साहित्य

पूर्वमन्त्री अच्युतराज रेग्मीका दुई कृति ‘जीवन र विचार’ लोकार्पण

काठमाडौँ । नेपालका वरिष्ठ लोकतान्त्रिक नेता, पूर्वमन्त्री तथा पूर्वसांसद अच्युतराज रेग्मीका दुई महत्त्वपूर्ण कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ एक विशेष समारोहबिच काठमाडौँमा लोकार्पण गरिएको छ। रेग्मीको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर उहाँको परिवारले दुवै पुस्तक सार्वजनिक गरेको हो।

‘जीवन र विचार’ रेग्मीको आत्मवृत्तान्त हो, जसमा उहाँले आफ्नो राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन, सङ्घर्ष र जीवनका विविध अनुभव समेट्नुभएको छ। यस्तै ‘अतीतमा अच्युत’ भने वि.सं. २००३ देखि २०७५ सम्म उहाँसँग सहकार्य गर्नुभएका दुई दर्जनभन्दा बढी लब्धप्रतिष्ठित व्यक्तित्वले उहाँको व्यक्तित्व, योगदान र विचारमाथि लेख्नुभएका संस्मरण, विश्लेषण र लेखको सङ्ग्रह हो। रेग्मीले ९३ वर्षको उमेरदेखि लेखन सुरु गरी ९६ वर्षमा यी कृति पूरा गर्नुभएको थियो।

कार्यक्रममा रेग्मीकी पत्नी भगवती रेग्मीले अच्युतराजको योगदानको इतिहास लामो रहेको उल्लेख गर्दै उहाँका विचार र जीवनदर्शनलाई पुस्तकमार्फत सम्पूर्ण नेपालीमाझ पुर्‍याउने सपना साकार भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि परिवारका तर्फबाट अन्य कृतिहरू निरन्तर प्रकाशन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

लोकार्पण समारोहमा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले अच्युतराज रेग्मीले सङ्गठन विस्तार, लोकतान्त्रिक आन्दोलन र राजनीतिक जागरणमा पुर्‍याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले स्व. रेग्मी बाल्यकालदेखि नै राजनीतिक तथा आध्यात्मिक चेत भएका व्यक्तित्व हुनुहुन्थ्यो भन्दै राष्ट्रिय स्वाधीनता र लोकतन्त्रका पक्षमा उहाँको भूमिका अनुकरणीय रहेको स्मरण गर्नुभयो।

कार्यक्रममा वरिष्ठ पत्रकार जीवराम भण्डारी, डा. सुरेन्द्र केसी, पशुपति शमशेर राणा, डा. माधव भट्टराई, प्रा. डा. खेम कोइराला ‘बन्धु’ लगायतका वक्ताले रेग्मीको सादगी, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता र कुशल वार्ताकारका रूपमा उहाँको योगदानको प्रशंसा गर्नुभएको थियो। दुवै कृतिको सम्पादन होम भट्टराईले गर्नुभएको हो भने प्रकाशनको जिम्मेवारी भगवती रेग्मीले सम्हाल्नुभएको छ।

स्व. रेग्मी ऐतिहासिक ‘जयतु संस्कृतम्’ आन्दोलनका प्रमुख योद्धा हुनुहुन्थ्यो। उहाँ वि.सं. २००९ मा महाकवि लक्ष्मीप्रसाद देवकोटासहित रोमानियाको बार्सामा आयोजित सम्मेलनमा सहभागी १० सदस्यीय पहिलो नेपाली विद्यार्थी प्रतिनिधिमण्डलको सदस्य हुनुहुन्थ्यो।

वि.सं. २०१४ मा पाल्पाबाट सल्लाहकार सभामा निर्वाचित हुनुभएका रेग्मी २०१५ को पहिलो आमनिर्वाचनमा पाल्पाबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। वि.सं. २०४७ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका रेग्मीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित अन्तरधार्मिक शान्ति सङ्घको अध्यक्षका रूपमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्