साहित्य समाचार

३२ मुलुकमा फैलिएको नेपाली साहित्यको इतिहास समेटियो

काठमाडौँ। विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली तथा नेपालीभाषी समुदायले सिर्जना गर्दै आएको साहित्यको इतिहास समेटेर प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको अनुसन्धानमूलक ग्रन्थ ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ प्रकाशित भएको छ ।

पैरवी प्रकाशनले प्रकाशित गरेको पुस्तकलाई अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले आप्रवासी नेपाली साहित्यको ‘प्रथम आधिकारिक इतिहास’का रूपमा उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार पुस्तकले नेपाली डायस्पोराको साहित्य, कला, संस्कृति, दर्शन र इतिहासको अभिलेखीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

पुस्तकमा नेपाली जाति तथा नेपालीभाषी समुदाय पुगेका ३२ भन्दा बढी मुलुकमा सिर्जना भएका साहित्यिक कृतिको विवरण समेटिएको छ । कविता, कथा, उपन्यास, नाटक, निबन्ध, समीक्षा तथा समालोचनालगायत साहित्यिक विधालाई देश र विधाका आधारमा कालक्रमिक रूपमा प्रस्तुत गरिएको छ ।

दुई खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा आप्रवास, आप्रवासी र डायस्पोरासम्बन्धी सैद्धान्तिक पक्षको चर्चा गरिएको छ भने दोस्रो खण्डमा विभिन्न मुलुकमा सिर्जना भएको नेपाली साहित्यको विधागत इतिहास प्रस्तुत गरिएको छ ।

पहिलो खण्डमा आप्रवासी नेपाली साहित्यको इतिहासलेखनको पृष्ठभूमि, डायस्पोराको अर्थ र स्वरूप, आप्रवासी निर्माण तथा विकास प्रक्रिया, आप्रवासीको वर्गीकरण, आप्रवासी नेपालीका प्रकार तथा आप्रवासी व्यक्ति र साहित्यबिचको सम्बन्धबारे चर्चा गरिएको छ । यसै खण्डमा आप्रवासी नेपाली साहित्यबारे प्रचलित भ्रम र विकृतिसमेत केलाइएको छ ।

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण र विश्वव्यापीकरणको विषयसमेत पुस्तकमा समेटिएको छ । नेपालबाहिर नेपाली साहित्यको अवस्था, त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न आवश्यक पक्ष तथा नेपाली साहित्यको विश्वव्यापीकरणका सम्भावनाबारे लुइटेलले सैद्धान्तिक विश्लेषण गर्नुभएको छ ।

३२ भन्दा बढी मुलुकको साहित्यिक अभिलेख

पुस्तकको दोस्रो खण्ड आप्रवासी मुलुकमा नेपाली साहित्यको इतिहासमा केन्द्रित छ । यसमा उत्तर अमेरिका, युरोप, ओसिनिया, एसिया र अफ्रिका महादेशका विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली तथा नेपालीभाषी समुदायले सिर्जना गरेका साहित्यलाई समेटिएको छ ।

उत्तर अमेरिकाअन्तर्गत अमेरिका र क्यानडा तथा युरोपअन्तर्गत बेलायत, रूस, बेल्जियम, पोर्चुगल, जर्मनी, अस्ट्रिया, डेनमार्क, फ्रान्स, नर्वे, स्पेन र नेदरल्यान्ड्सका नेपाली साहित्यको विवरण समावेश गरिएको छ ।

ओसिनियाअन्तर्गत अस्ट्रेलिया, न्युजिल्यान्ड र पपुआन्युगिनी तथा एसियाअन्तर्गत हङकङ, चीन, ताइवान, जापान, दक्षिण कोरिया, इजरायल, कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, कुवेत, साउदी अरेबिया, भियतनाम, ओमान र सिंगापुरका नेपाली साहित्यलाई पुस्तकमा समेटिएको छ । अफ्रिका महादेशमा रहेका नेपाली समुदाय र त्यहाँको साहित्यिक अवस्थाबारे पनि छुट्टै चर्चा गरिएको छ ।

मुलुकअनुसार उपलब्ध सामग्रीका आधारमा कविता, कथा, उपन्यास, नाटक, निबन्ध, समीक्षा तथा समालोचनालगायत विधालाई छुट्टाछुट्टै प्रस्तुत गरिएको छ । केही मुलुकमा अंग्रेजी भाषामा प्रकाशित नेपालीका कृति तथा सम्पादित संग्रहलाई समेत समेटिएको छ ।

लुइटेलले कृतिलाई विधागत तथा कालक्रमिक आधारमा प्रस्तुत गर्नुभएको छ । एउटै विधामा एउटै वर्षमा प्रकाशित एकभन्दा बढी कृतिलाई लेखकको नामको वर्णानुक्रमअनुसार राखिएको छ ।

कविताअन्तर्गत गीत, गजल, मुक्तक, हाइकु, भजन, खण्डकाव्य र महाकाव्य तथा कथाअन्तर्गत लघुकथा समेटिएका छन् । निबन्धअन्तर्गत नियात्रा, संस्मरण, प्रबन्ध र लेखलाई समेत समावेश गरिएको छ ।

लुइटेलका अनुसार कुनै पनि विधामा कम्तीमा एउटा पुस्तकाकार कृति प्रकाशित गरेका साहित्यकारलाई मुख्य विवरणमा समेटिएको छ । पुस्तकाकार कृति प्रकाशित नभए पनि विभिन्न माध्यममा फुटकर रचना प्रकाशन गरेका व्यक्तिको नामावलीसमेत राखिएको छ ।

विधागत विवरणपछि उपलब्ध सम्पादित संकलनलाई पनि कालक्रममा प्रस्तुत गरिएको छ । प्रत्येक विधाको विवरणपछि आवश्यकताअनुसार टिप्पणीसमेत दिइएको छ ।

लामो अनुसन्धान अनुभवको प्रतिफल

नेपाली साहित्य, भाषा, भाषाविज्ञान, लोकसाहित्य, समालोचना, कोशविज्ञान तथा डायस्पोरा अध्ययनमा लामो समयदेखि अनुसन्धान र लेखन गर्दै आउनुभएका लुइटेलका एक सयभन्दा बढी ग्रन्थ प्रकाशित छन् । उहाँले त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा लामो समय प्राध्यापन तथा अनुसन्धान गर्नुभएको छ भने विभागीय प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ ।

‘आप्रवासी नेपाली साहित्यको इतिहास’ डायस्पोरा अध्ययनसँग सम्बन्धित उहाँको दोस्रो महत्वपूर्ण कृति हो । यसअघि पैरवी प्रकाशनले उहाँको ‘डायस्पोराको सैद्धान्तिक स्वरूप’ प्रकाशित गरेको थियो ।

नेपाली समालोचनामा संरचनावादी दृष्टिकोणको विकास तथा विस्तारमा योगदान दिनुभएका लुइटेल मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । नेपाली भाषा र साहित्यको मानकीकरण तथा अन्तर्राष्ट्रिय विस्तारमा योगदान गरेबापत उहाँले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ ।

लुइटेलले आप्रवासी नेपाली साहित्यको इतिहास लेखन निकै चुनौतीपूर्ण काम भएको बताउनुभयो । नेपालमा बसेर नेपाली साहित्यको इतिहास लेख्नसमेत कठिन हुने अवस्थामा विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीले सिर्जना गरेका साहित्यको समग्र इतिहास तयार गर्नु अझ चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

अमेरिका, क्यानडा, युरोपका विभिन्न मुलुक, जापान, दक्षिण कोरिया र अस्ट्रेलियालगायत नेपाली साहित्यिक गतिविधि हुने स्थानमा पुगेर तथ्य तथा सामग्री संकलन गरिएको उहाँले बताउनुभयो ।

‘पुस्तक तयार पार्न नेपाली साहित्यिक संघसंस्था, लेखक तथा विभिन्न देशमा रहेका नेपाली समुदायबाट सामग्री र तथ्य संकलन गरिएको हो,’ लुइटेलले भन्नुभयो ।

उहाँका अनुसार कम्प्युटर र छपाइ प्रविधिको विकाससँगै विदेशमा रहेका नेपालीले व्यक्तिगत लगानीमा पुस्तक प्रकाशन गर्ने क्रम बढेको छ । तर ती कृति कहाँ, कहिले र कुन विधामा प्रकाशित भए भन्ने व्यवस्थित अभिलेख नहुँदा साहित्यको इतिहास लेखनमा समस्या हुँदै आएको छ ।

विश्वका जुनसुकै मुलुकबाट कृति प्रकाशित भएलगत्तै लेखक, कृतिको नाम, विधा र प्रकाशन वर्षलगायत विवरण विद्युतीय अभिलेखमा राख्न सके भविष्यमा इतिहास लेखन सहज हुने उहाँको सुझाव छ ।

अनेसासका संस्थापक अध्यक्ष सुवेदीले पुस्तकलाई आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहासका रूपमा चित्रित गर्नुभयो ।

उहाँका अनुसार लुइटेलले विभिन्न मुलुकमा पुगेर तथ्य संकलन गरी नेपाली डायस्पोराको साहित्यिक इतिहासलाई सिद्धान्त र व्यवहार दुवै कोणबाट एकीकृत रूपमा प्रस्तुत गर्नुभएको छ । पुस्तक आप्रवासी साहित्यका अध्येता तथा शोधकर्ताका लागि उपयोगी हुने उहाँको भनाइ छ ।

सुवेदीले पुस्तकले विभिन्न डायस्पोराका कवि तथा लेखकको प्रतिनिधित्व गरेको उल्लेख गर्दै इतिहास लेखन क्रमिक रूपमा विकसित हुने भएकाले आगामी संस्करण तथा थप अनुसन्धानबाट छुटेका विषयसमेत समेटिँदै जाने बताउनुभयो ।

उहाँले पुस्तकलाई नेपाली साहित्यको इतिहास, दर्शन, दर्पण र गौरवका रूपमासमेत चित्रित गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्