राजनीति
गणेशमानको आदर्श आत्मसात् गर्न कांग्रेसलाई थापाको आह्वान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाउनुभएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने बताउनुभएको छ ।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार श्रद्धाञ्जली व्यक्त गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन समर्पण गर्नुभएका सिंहको योगदान स्मरण गर्दै उहाँका आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्नुपर्नेमा जोड दिनुभएको हो ।
सभापति थापाले गणेशमान सिंह कठिन परिस्थितिमा समेत आफ्नो अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेता भएको उल्लेख गर्नुभएको छ ।
“समय बदलिएको छ, चुनौती बदलिएका छन् । तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ,” उहाँले भन्नुभएको छ ।