गंगाजलीमा आदिबासी जनजाति साहित्य महोत्सव
सप्तरी । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभले साहित्य र कलाले समाज जोड्ने काम गर्ने हुनाले यसको संरक्षण र प्रवर्धनमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ।
सप्तरीको सप्तकोसी नगरपालिका –५, गंगाजलीमा शनिबारदेखि सुरुभएको आदिबासी जनजाति साहित्य महोत्सवको उदघाटन सत्रमा शनिबार धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । प्रमुख लाभले विकास भनेको पैसाको आम्दानी मात्र नभइ शिक्षामा बृद्धि, स्वास्थ्य सेवामा विस्तार, नागरिकलाई अवसरमा पहुँच सबै विकास भएको बताउनुभयो ।
सबैले सकारात्मक सोच राखी काम गरेमा मुलुक समृद्धिको बाटोमा जाने भन्नहुँदै उहाँले आदिाबसी जनजातिको भाषा, साहित्य, कलाले मुलुकलाई एकताको सूत्रमा बाँध्ने काम गर्दैआएको बताउनुभयो । मुलुक विविध समुदायले बनेकाले राज्यको निकायमा सबै समुदायको समान पहुँच र प्रतिनिधित्वले नै राष्ट्रिय एकतालाई बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मधेस प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य राजकुमार लेखीले संविधानले सबै समुदायलाई समान अधिकार प्रदान गरे पनि त्यसको कार्यान्वयन पक्ष कमजोर भएकाले नागरिकलाई विभेद महशुस भएको बताउनुभयो । आदिबासीको भाषा, संस्कृति र प्रथा परम्पराले सामाजिक एकता कायम गर्ने गरेको बताउँदै उहाँले आदिबासीको साहित्य महोत्सवले एकताको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिबासीको पहिचान भनेकै भाषा, साहित्य, संस्कृति र प्रथाजन्य परम्परा भएको बताउँदै उहाँले आदिबासीको विशिष्ट पहिचानको संरक्षणमा सरकार र समुदाय स्वयम् लाग्नुपर्ने बताउनुभयो । आयोगलाई कार्यकारी अधिकार प्रदान नहुँदा आदिबासीको पक्षमा चाहेजस्तो काम गर्न नसकिएको उहाँले बताउनुभयो ।
सप्तकोसी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गोसाइँ चौधरीको सभापतित्वमा भएको साहित्य महोत्सवको उदघाटनसत्रमा थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारु, मधेस प्रदेश सांसद राजेन्द्रप्रसाद चौधरी, नेपाल आदिबासी जनजाति महासंघका महासचिव विमल सारु मगर, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, प्राध्याक डा. पासाङ डोल्मा शेर्पा लगायतले धारणा राख्नुभएको थियो ।
साहित्य महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ । महोत्सवको उदघाटनसत्रमा थारु सांस्कृतिक नृत्यहरु प्रदर्शन गरिएका थिए । महोत्सव स्थलमा थारु फुड फेष्टिबलमा थारु खाना परिकारहरु विक्रीका लागि राखिएका छन् । कार्यक्रममा हजारौंको सहभागिता रहेको छ।