एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित
काठमाडौँ। विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । पहिलो जित निकाल्ने क्रममा विराटनगरले आज राति सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हरायो ।
सुदूरपश्चिमले दोस्रो हारको सामना गर्यो । आफ्नो तेस्रो खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पाँच ओभरमा झारिएको खेलमा तीन विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो ।
उसका लगि सेफ अली जेबले १० बलमा दुई छक्कासहित १७ रन बनाए । यस्तै, अविजित रहेका स्कट कुग्लाइनले २८ र आरिफ शेखले १७ रन जोडे ।
विराटनगरका लागि बलिङतर्फ रुपेश सिंह, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले समान एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले वर्षाका कारण पाँच ओभरमा झारिएको खेलमा दुई विकेट गुमाएर १०५ बनायो ।
उसका लागि शेहान जयसूर्याले ११ बलमा पाँच छक्का र दुई चौकासहित सर्वाधिक ३९ रनको पारी खेले । यस्तै, आन्द्रे रसेलले अविजित २९ र लोकेश बमले २५ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका लागि अविनाश बोहराले एक विकेट लिए । आजै हुने भनिएको चितवन राइनोज र लुम्बिनी लायन्सबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो । रासस