खेलकुद

विश्वकप लिग–२ : क्यानडाविरुद्ध नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी भएको छ । जारी लिग–२ मा नेपालको १२औँ जित हो । यो जितपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बढेको छ । 

आज भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ दशमलव चार ओभरमा २११ रनमा अलआउट भयो । उसका लागि आरोन जोनसनले ४४, समित गोहेलले ३५, अखिल कुमारले अविजित ३०, श्रेयस मोभ्वा र हम्जा तारिकले २६÷२६ रन जोडे ।

बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक देखिएन । नेपालका लागि बलिङतर्फ ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले दुई दुई विकेट लिए । त्यसअघि मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सानदार पारी खेले । उनले १०७ बलमा आठ चौका र एक छक्कासहित १०१ रनको पारी खेलेका हुन् । यस्तै, गुलशन झाले ४८ बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोडे । क्यानडाका लागि बलिङमा अखिल कुमारले सर्वाधिक चार विकेट लिए ।

यो जितपछि नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । नेपालले अहिलेसम्म ३३ खेलमध्ये १२ खेलमा जित र १९ खेलमा पराजय व्यहोरेको छ । यस्तै, नेपालले दुई खेलमा अङ्क बाँडेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्