नेपाल

मुस्ताङको मौसममा सुधार, जनजीवन सामान्य बन्दै

मुस्ताङ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावका कारण प्रभावित बनेको मुस्ताङमा शनिबार दिउँसोदेखि मौसममा सुधार आएपछि जनजीवन सामान्य बन्दै गएको छ ।

चक्रवातको प्रभावले मौसममा आएको परिवर्तनका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा शनिबार दिउँसोदेखि वर्षा र हिमपात रोकिएर आकाश खुलेपछि मानिसहरू सामान्य दैनिकीमा फर्किन थालेका छन् । मौसममा सुधार आएपछि सदरमुकाम जोमसोममा पर्यटक तथा सर्वसाधारणको चहलपहल बढेको स्थानीय व्यवसायी जिना तामाङले बताउनुभयो ।

वर्षाका कारण थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका साथै उपल्लो मुस्ताङका होटलमा रोकिएका पर्यटक गन्तव्यतर्फ फर्किन थालेका छन् । स्वदेशी तथा विदेशी पर्यटकसमेत मुस्ताङ भित्रिन थालेका छन् ।

जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रले उपल्लो मुस्ताङमा भारी हिमपात र सदरमुकाम जोमसोममा ४६ मिलिमिटर वर्षा मापन गरेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले पूर्वसतर्कताका कारण मुस्ताङसँग सिमाना जोडिएका म्याग्दी, मनाङ र डोल्पाका पदमार्गमा यात्रा गर्ने पर्यटकलाई कुनै समस्या नभएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले अन्तरजिल्ला सूचना आदानप्रदान तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र नेपाल प्रहरीमार्फत पदयात्रामा जाने पर्यटकलाई मौसमसम्बन्धी जानकारी गराएको थियो । सोही सतर्कताका कारण शुक्रबार मनाङबाट थोराङ्ला पास हुँदै ९४ जना विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन् ।

त्यस्तै, सडकमार्ग हुँदै एक हजार ३४५ जना मुस्ताङ प्रवेश गरेका छन् भने एक हजार ७२६ जना बाहिरिएका छन् । भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमका कारण पदमार्गमा प्रवेश तथा बाहिरिने मार्गमा कडाइ गरिएकाले पर्यटकको सुरक्षामा सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यसैबीच, हिमपात र वर्षाका कारण मुस्ताङमा स्याउलगायत अन्य कृषि बालीमा असर नपरेको जिल्ला कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

गत भदौमा भोटेकोशीमा आएको बाढी र असोजको दोस्रो साता कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्यटन क्षेत्र प्रभावित बनेको थियो । पछिल्लो समय मौसममा क्रमिक सुधार आएसँगै मुस्ताङको पर्यटन क्षेत्र पुनः लयमा फर्किनेमा पर्यटन व्यवसायी आशावादी छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्