रास्वपा र एमाले कार्यकर्ताबीच झडप, प्रहरीको गोली लागेर किशोर घाइते
बारा । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनलाई लिएर भएको विवादले उग्र रूप लिँदा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप भएको छ । शनिबार भएको झडपमा प्रहरीको गोली लागेर १५ वर्षीय किशोर घाइते भएका छन् भने अस्पताल परिसरमा रहेका १० मोटरसाइकलमा आगजनी भएको छ ।
घाइते हुनेमा फेटा गाउँपालिका–३ का आदित्य पासवान छन् । उनको तिघ्रामा गोली लागेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले बताए । पासवानको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । झडपका क्रममा ढुंगामुढा लागेर पाँच प्रहरी पनि घाइते भएका छन् ।
फेटा गाउँपालिकामा निर्माण सम्पन्न १५ शय्याको अस्पताल उद्घाटन गर्ने कार्यक्रम थियो । अस्पताल उद्घाटनका लागि रास्वपा सांसद समीक्षा बास्कोटा त्यहाँ पुगेकी थिइन् । प्रशासनका अनुसार अस्पताल उद्घाटन रोक्ने र शिलालेखमा उल्लेख गरिएको नाम हटाउने विषयमा विवाद भएको थियो । निवर्तमान गाउँपालिका अध्यक्ष अमिरीलाल साह कानुले उद्घाटन कार्यक्रम रोक्न चाहेका थिए ।
कानु एमालेबाट निर्वाचित भएका थिए । उनकै कार्यकालमा अस्पताल निर्माण सुरु भएको थियो । अस्पताल उद्घाटनको विषयलाई लिएर एमालेका स्थानीय नेता तथा कार्यकर्ताले कार्यक्रम हुन नदिने चेतावनीसमेत दिएका थिए । बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार एमालेका स्थानीय नेताहरूले कार्यक्रम हुनुभन्दा दुई दिनअघि नै जिल्ला प्रशासन कार्यालय पुगेर उद्घाटन कार्यक्रम बिथोल्ने चेतावनी दिएका थिए ।
विरोधको नेतृत्व गर्नेमध्ये स्थानीय शिक्षक लालबाबु साह पनि रहेको प्रशासनले जनाएको छ । उनी जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले राजनीतिक गतिविधिमा शिक्षकको संलग्नताबारे दुई दिनअघि नै शिक्षा विकास तथा समन्वय इकाइ बारालाई जानकारी गराइएको बताए ।
मधेश प्रदेश प्रहरीका प्रवक्ता ढकालका अनुसार निवर्तमान गाउँपालिका अध्यक्षको नेतृत्वमा करिब २५० जनाको समूह कार्यक्रमस्थल पुगेको थियो । त्यसपछि अस्पताल परिसरमा आक्रमण र झडप भएको थियो । प्रदर्शनकारीले अस्पतालको शिलालेख र उद्घाटनका लागि तयार पारिएको टेन्टमा क्षति पुर्याएका थिए ।
भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसपछि अस्पताल परिसरमा रहेका १० वटा मोटरसाइकलमा आगजनी भएको थियो । झडपका क्रममा अस्पतालभित्रै थुनिएका १० स्वास्थ्यकर्मी र केही सुरक्षाकर्मीलाई प्रहरीले उद्धार गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार घटनामा संलग्न भएको आरोपमा हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।