एक्सक्लुसीभ

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विषयमा सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित दुई वटा रिट दर्ता भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभामा रहेका सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेर शपथ ग्रहण गराउनु असंवैधानिक भएको भन्दै दुई रिट दायर भएका हुन् ।

जनकपुरधाम–१६ घर भई काठमाडौँ महानगरपालिका ३५ बस्ने रक्की प्रसाद साह र सिराहा नगरपालिका–२० का सुजित यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दायर गर्दै उत्प्रेषण परमादेशको माग गर्नुभएको छ ।

सर्वोच्च अदालतले उक्त रिटमा रिटमाथि छलफलको लागि मङ्गलवारको तारेख तोकेको छ ।  साह र यादवले नेपालको संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदा हुँदै संविधान उल्लङ्घन गरेर उपधारा  ३ बमोजिम सरकार बनाउने काम भएकाले उत्प्रेषणको आदेश मार्फत मुख्यमन्त्रीको नियुक्ति खारेजीको माग रिटमा गरिएको छ ।

गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्र प्रसाद सोनारले राजीनामा दिएपछि आइतबार यादवलाई नियुक्त गरेर सोमबार बिहान बर्दिबासको पानस होटलमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सपथ ग्रहण गराउनुभएको थियो ।

यसै गरि कानूका विद्यार्थी तथा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ घर भई काठमाडौँ महानगरपालिका–११ बस्ने अर्जुन साहले पनि मुख्यमन्त्रीको नियुक्ति अवैधानिक भएकाले बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.