नेपाल

काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् ।

सोमवार नेपाली काँग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै विचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्षमा पुग्न नहुने बताएका हुन् ।

उनले गगन थापा र आफूले पार्टीको नेतृत्व परिवर्तनका लागि करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपप्रति प्रश्न उठाउँदै पटक–पटक सत्तामा पुगेका नेताहरू र आफूहरूबीचको राजनीतिक तथा आर्थिक हैसियत तुलना गर्न आग्रह गरे । कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोडेर अभिव्यक्ति दिँदैमा त्यसलाई अदालत वा कानूनले प्रमाणका रूपमा स्वीकार गर्छ कि गर्दैन भन्दै उनले सामाजिक सञ्जालमा हुने प्रचारको पछि नलाग्न आग्रह गरे । शर्माले काँग्रेसको विशेष महाधिवेशनदेखि १५ औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधि, विधान, पद्धति र संविधानअनुसार सम्पन्न भएको दाबी गरे ।

महाधिवेशन प्रतिनिधिहरूको निर्णय कार्यान्वयन भएको भन्दै पार्टीभित्रका निर्णयलाई लिएर अनावश्यक भ्रम सिर्जना नगर्न उनको आग्रह छ । उनले बदलिएको राष्ट्रिय परिस्थिति र आवश्यकताअनुसार काँग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताउनु भयो । पार्टीलाई चुस्त, व्यवस्थित र योजनाबद्ध रूपमा सञ्चालन गर्दै देशको विकास र समृद्धिका लागि काम गर्ने उनको भनाइ छ ।

शर्माले भने, ‘राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिअनुसार नेपाली काँग्रेसलाई नयाँ सोच, ऊर्जा र दिशासहित अघि बढाउनुपर्ने समय आएको छ । पार्टीको विशेष महाधिवेशनदेखि आगामी १५ औँ महाधिवेशनसम्मका प्रक्रिया विधि, विधान र पद्धतिअनुसार अघि बढेका छन् । अपुष्ट आरोप र हल्लाभन्दा तथ्य, प्रमाण र विवेकलाई प्राथमिकता दिनुपर्छ । अब काभ्रे काँग्रेसले गाउँ, टोल र जनताको घरदैलोसम्म पुगेर संगठन बलियो बनाउनुपर्छ । अनुभवी नेतृत्व र युवा पुस्ताको सहकार्यमा जिल्लामा नयाँ उत्साह, विश्वास र ऊर्जा जगाउनुपर्छ । हामी अध्ययन, मेहनत, एकता र योजनाका साथ पार्टी तथा देशको समृद्धिका लागि अघि बढ्नुपर्छ ।’

काभ्रे काँग्रेसलाई संगठन विस्तार र सुदृढीकरणमा केन्द्रित हुन आग्रह गर्दै शर्माले पार्टीको जग बलियो बनाउन कार्यकर्ताहरू गाउँ तथा समुदायसम्म पुग्नुपर्ने बताए। कार्यकर्तामा आशा र आत्मविश्वास जगाउन सके मात्रै समाजमा नयाँ विश्वास स्थापित गर्न सकिने उनले उल्लेख गरे ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्