एक्सक्लुसीभ

१३  हिमचुचुराको अवलोकन गर्न  सकिने मर्दी पदयात्रा

कास्की । छोटो समयमै हिमालको फेदीसम्म पुग्न सकिने, जङ्गलै जङ्गल शान्त वातावरणमा पदयात्रा गर्न पाइने र एकै पदमार्गबाट १३ वटा हिमचुचुराको अवलोकन गर्न सकिने विशेषताले कास्कीको मर्दी हिमाल पदमार्ग लोकप्रिय बनेको छ ।

पोखराबाट नजिकै रहेको यो पदमार्गमा अन्य कतिपय पदयात्रा मार्गको तुलनामा कम जोखिम छ । छोटो बिदामै हिमाली सौन्दर्यको अनुभव लिन सकिने भएकाले आन्तरिक तथा विदेशी पर्यटक पदयात्रामा आकर्षित छन् ।

मर्दी हिमाल पदमार्ग व्यवस्थापन समितिका अनुसार पछिल्लो समय दैनिक छ सयदेखि ७०० जनासम्म पर्यटक यस पदमार्गमा पदयात्राका लागि जाने गरेका छन् । विशेषगरी दसैँ–तिहारको समय र अनुकूल मौसमका कारण पर्यटकको आगमन बढ्दा उनीहरूको आवास तथा अन्य व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन उल्लेख्य बढेको बताउनुभयो । उहाँका अनुसार असोजदेखि नै पर्यटकको चाप बढेपछि होटलमा आवास व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ ।

पर्यटकको सङ्ख्या होटलको क्षमताभन्दा बढी हुँदा कतिपयलाई टेन्ट तथा डाइनिङ हलमा समेत राख्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । मर्दीको हाइक्याम्पमा १४ वटा होटल सञ्चालनमा छन् । प्रत्येक होटलमा २५ भन्दा बढी शय्या राख्न नपाइने व्यवस्था रहेकाले मुख्य पर्यटकीय याममा पर्यटकले सहजै बास नपाउने समस्या देखिएको छ ।

“मर्दीमा अघिल्लो वर्षभन्दा यस पटक पर्यटक धेरै आउनुभएको छ । फरेष्ट क्याम्पमाथिका सबै होटल भरिभराउ हुँदा थप पर्यटक राख्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पर्यटकले असुविधा भोग्नुपर्दा मर्दीका बारेमा नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता लाग्ने गरेको छ,” अध्यक्ष तामाङले भन्नुभयो ।

मर्दी हिमाल पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्दछ । एक्यापले होटल तथा कोठाको सङ्ख्या निश्चित गरेकाले पर्यटकीय याममा पर्यटकको चापअनुसार आवास व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ । पर्यटकको बढ्दो आकर्षणलाई कायम राख्दै उनीहरूलाई सहज सेवा दिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने अध्यक्ष तामाङको भनाइ छ ।

माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्ग पोखराबाट नजिकै रहेकाले छोटो समयमै हिमाली क्षेत्रको अनुभव लिन चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य हो । माछापुच्छ्रे गाउँपालिकाको घलेल, कालीमाटी र सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट तीनदेखि चार दिनमा यो पदयात्रा पूरा गर्न सकिन्छ ।

जङ्गल, गुराँसे वन, अग्ला पहाड र खुला डाँडाकाँडा हुँदै अघि बढ्दा पदयात्रीले मर्दी हिमालसँगै माछापुच्छ«े, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम र गङ्गापूर्णलगायत हिमालको मनोरम दृश्य अवलोकन गर्न पाउँछन् । पदयात्राका क्रममा फेरिइरहने प्राकृतिक दृश्य, चिसो हावापानी र शान्त वातावरणले यस क्षेत्रको आकर्षण थप बढाएको छ ।

आन्तरिक पर्यटक नारायण कँडेलका अनुसार मर्दी हिमाल पदमार्गको मुख्य विशेषता छोटो समयमै हिमालको नजिक पुगेर प्राकृतिक सौन्दर्यको आनन्द लिन पाउनु हो । “यहाँको शान्त वातावरण र मनोरम दृश्यले पदयात्रालाई निकै रमाइलो बनाउँछ । छोटो समयमै हिमाली क्षेत्रको अनुभव लिन पाउनु यसको विशेषता हो,” उहाँले भन्नुभयो ।

समुद्री सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा रहेको मर्दी हिमाल आधार शिविर यस पदयात्राको मुख्य आकर्षण हो । फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प हुँदै आधार शिविर पुग्ने पदयात्रीले यात्राभरि हिमाली दृश्यको आनन्द लिन पाउँछन् । विशेषगरी बिहान सूर्योदयका समयमा हिमालमा देखिने सुनौलो दृश्य पर्यटकका लागि अविस्मरणीय बन्ने गरेको छ ।

मर्दी हिमालको भ्रमणमा रहनुभएकी पर्यटक निकिता कार्कीले यहाँको प्राकृतिक सुन्दरता र पदयात्राको अनुभवले आफूलाई आकर्षित गरेको बताउनुभयो । “मर्दी हिमालको प्राकृतिक सुन्दरता निकै आकर्षक छ । पदयात्राका क्रममा देखिने हिमाल र यहाँको वातावरणले थकान पनि बिर्साइदिन्छ,” उहाँले भन्नुभयो ।

इटलीबाट आउनुभएका पर्यटक इन्ट्राले पनि मर्दी हिमालको प्राकृतिक वातावरण र हिमाली दृश्य निकै आकर्षक रहेको बताउनुभयो । पदयात्राका क्रममा देखिने हिमाल र शान्त वातावरणले आफूलाई विशेष अनुभव दिएको उहाँको भनाइ छ ।

पर्यटकको बढ्दो आगमनले पदमार्ग आसपासका बस्तीमा आर्थिक गतिविधिसमेत विस्तार हुँदै गएको छ । होटल, रेस्टुरेन्ट, चियापसल तथा अन्य पर्यटनसम्बन्धी व्यवसायमा चहलपहल बढेसँगै स्थानीयवासीले रोजगारी र आम्दानीका अवसर प्राप्त गरेका छन् । विशेषगरी लो क्याम्प, हाइक्याम्प तथा आसपासका क्षेत्रमा सञ्चालित होटल व्यवसाय पर्यटकको आगमनबाट लाभान्वित भएका छन् ।

हाइक्याम्पस्थित होटल व्यवसायी कविता अर्याल गौतमका अनुसार पछिल्लो समय मर्दी हिमाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । “पर्यटकको आगमन बढ्दा होटल व्यवसायसँगै स्थानीयको आम्दानी र रोजगारीका अवसर पनि बढेका छन् । यसले यहाँका पर्यटन व्यवसायीलाई थप उत्साहित बनाएको छ,”  उहाँले भन्नुभयो ।

प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको मर्दी हिमालमा पर्यटकको आकर्षणसँगै संरक्षण र व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

पर्यटकको बढ्दो चापलाई दृष्टिगत गर्दै पदमार्गको स्तरोन्नति, फोहोर व्यवस्थापन, सरसफाइ, पर्यटक सूचना प्रणाली तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा व्यवसायीले जोड दिएका छन् । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्