राजनीति

रास्वपामा व्यक्ति विशेष उम्मेदवारी घोषणा, पार्टी सदस्यता नै खारेज गर्ने चेतावनी

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको औपचारिक निर्णयबिनै उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता तथा कार्यकर्तालाई अनुशासनको दायरामा रहन चेतावनी दिएको छ।

रास्वपाको कोशी प्रदेश समितिले उम्मेदवार छनोटको प्रक्रिया पूरा नहुँदै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट आफूलाई पार्टीको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने गतिविधि रोक्न निर्देशन दिएको हो।

प्रदेश महामन्त्री निरज कटुवालद्वारा जारी अत्यन्त जरुरी सूचनामा पार्टीको ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनु उम्मेदवारी सुनिश्चित हुनु नभएको स्पष्ट पारिएको छ। औपचारिक निर्णयबिना उम्मेदवारी घोषणा वा प्रचारप्रसार गरे पार्टीको विधान र आचारसंहिताअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

पार्टीको निर्देशन उल्लंन गर्ने आकांक्षीलाई उम्मेदवार छनोट प्रक्रियाबाट निष्कासन गर्नेदेखि जिम्मेवारीबाट हटाउने र साधारण सदस्यता नै खारेज गर्नेसम्मको कारबाही हुन सक्ने सूचनामा उल्लेख छ।

प्रदेश समितिले सामाजिक सञ्जालमा आफूलाई आधिकारिक उम्मेदवारका रूपमा प्रस्तुत गर्दै प्रकाशित गरिएका सामग्री तत्काल हटाउनसमेत निर्देशन दिएको छ। पार्टीको स्वीकृत प्रक्रियाभन्दा बाहिर गएर गरिने प्रचारप्रसारलाई विधान विपरीत गतिविधिका रूपमा लिइने जनाइएको छ।

उम्मेदवार छनोटमा व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब वा धम्की स्वीकार नगर्ने पनि प्रदेश समितिले स्पष्ट पारेको छ। निर्वाचन तथा उम्मेदवार छनोट प्रक्रियालाई प्रभावित गर्ने उद्देश्यले आर्थिक लेनदेन, उपहार वितरण, भोजभतेर वा पद र शक्तिको दुरुपयोग गर्न निषेध गरिएको छ।

त्यस्तै, पार्टीका आन्तरिक निर्णय, छलफल, दस्ताबेज तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न पनि निर्देशन दिइएको छ। पार्टीको विधि, आन्तरिक लोकतन्त्र र संस्थागत मर्यादा सबै सदस्य तथा आकांक्षीका लागि समान रूपमा लागू हुने सूचनामा उल्लेख छ।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटलाई व्यवस्थित बनाउन ‘क्यान्डिडेट क्लब’को व्यवस्था गरेको छ। यस प्रक्रियाअन्तर्गत इच्छुक व्यक्तिले आवेदन दिएपछि निर्धारित योग्यता परीक्षण, प्रशिक्षण, मूल्याङ्कन तथा अन्य छनोट प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।

पार्टीले गाउँपालिका र नगरपालिकाका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि आवेदन खुला गरिसकेको छ। तर आवेदन दर्तालाई नै उम्मेदवारीको स्वीकृति ठानेर कतिपय आकांक्षीले प्रचारप्रसार थालेपछि प्रदेश समितिले अनुशासनसम्बन्धी निर्देशन जारी गरेको हो।

कोशी प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख पदका आकांक्षीहरूको सूची सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रदेश समितिले उक्त सूचना जारी गरेको बताइएको छ।

उम्मेदवार छनोटमा पारदर्शिता र विधिको पालना सुनिश्चित गर्ने पार्टीको घोषित नीतिका बीच आकांक्षीहरूको स्वतन्त्र प्रचारप्रसारले आन्तरिक व्यवस्थापनमा चुनौती थपिएको देखिएको छ। प्रदेश समितिको पछिल्लो निर्देशनले औपचारिक निर्णय नभएसम्म कुनै पनि आकांक्षीलाई पार्टीको आधिकारिक उम्मेदवारका रूपमा प्रस्तुत गर्न नपाइने स्पष्ट पारेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्