राजनीति

लिपुलेक हुँदै चीन र भारतले गरेको सम्झौताबारे जानकारी गराउन माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले चीन र भारतले नेपालको भूमि लिपुलेक मार्ग हुँदै दुई देशबीच व्यापार गर्ने भनी भएको सम्झौताबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले भन्नुभयो, “आज नेपाल आमालाई दुखिरहेको छ, हाम्रा दुई छिमेकी मित्र राष्ट्र चीन र भारतले हाम्रो देश नेपाललाई जानकारीसमेत नदिई लिपुलेक पासबाट दुईपक्षीय व्यापार खोल्ने सहमति गर्ने भन्ने खबरले हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ।”

उहाँले नेपालको संविधानमा उल्लेख गरेको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएपनि नेपाललाई कुनै जानकारीसमेत नदिई गरिएको भनिएको सहमतिको विरोध गर्नुभयो।

उहाँले भन्नुभयो, “विगतमा पनि हाम्रो पार्टीले यो विषयमा नेपालको राष्ट्रिय सार्वभौमिकता तथा अखण्डताको विरुद्ध छ भनेर भनेकै थियो, कुनै पनि सरकारको मुख्य कामभित्र पर्ने राष्ट्रिय सार्वभौमिता र अखण्डताको रक्षाको निम्ति उभिनु हो, लिपुलेक पासबाट दुईपक्षीय व्यापार खोल्ने सहमतिको बारेमा आवश्यक कूटनीतिक र राजनीतिक पहल अगाडि बढाउन सरकारसँग अनुरोध गर्दछु।”

नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले प्रदेश राजधानीबाट सहिद मार्ग हुँदै रोल्पाबाट रुकुमपूर्वको सदरमुकाम जोड्ने रोल्पा र रुकुमको सीमानामा चिङ्वाङ खण्डमा निरन्तर पहिरो जाँदा आवागमन प्रभावित भएको बताउँदै आवागमन सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले भन्नुभयो, “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हो, त्यसको भोग गर्ने अधिकार नेपाललाई छ, अहिले चीन र भारतले त्यही लिपुलेक मार्ग भएर दुई देशबीचमा व्यापार गर्ने भनी समाचार आएको छ, नेपालको सहमतिबिना नेपालको भूभाग प्रयोग गरी दुई देशले व्यापार गर्ने कुरा गलत छ, यो कुराबाट दुई छिमेकी सच्चिनुपर्छ, त्यो निर्णयबाट उहाँहरु फिर्ता हुनुपर्छ।”

उहाँले भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीप्रति ऐतिहासिक प्रमाणले नेपालको दाबी पुग्दैन भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो। रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.