राजनीति

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता 

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ । 

प्रधानमन्त्री शाह न्युयोर्कबाट कतारको दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न ४ः०० बजे अवतरण गर्नुभएको हो।

प्रधानमन्त्री शाहले असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेस तथा विभिन्न देशका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गर्नुभएको थियो ।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन यही असोज ६ गते संयुक्तराज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो ।

महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राख्नुभएको थियो । महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो ।

उहाँले हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपालजस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको धारणा राख्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्