नेपाल

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

“आज साँझसम्म कोशी नदीको जलसतह चार दशमलव ७८ मिटर पुगेको छ र बहाव बढ्दो क्रममा छ । आज राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले छ मिटरको सतर्कता तह पार गर्न सक्छ”

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । 

उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्नसक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ ।

विभागका बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्नसक्ने बताउनुभयो । “आज साँझसम्म कोशी नदीको जलसतह चार दशमलव ७८ मिटर पुगेको छ र बहाव बढ्दो क्रममा छ । आज राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले छ मिटरको सतर्कता तह पार गर्न सक्छ”, उहाँले भन्नुभयो ।

विष्टका अनुसार नदीको जलसतह छ मिटर पुगेमा सतर्कता तह र सात मिटर पुगेमा खतरा तह पार गर्नेछ । नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ वटा ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

उहाँले बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार पूर्वतयारी तथा प्रतिकार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्