एक्सक्लुसीभ

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ । 

आज न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आदेश जारी गर्दै प्रसाईँलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको हो ।

अदालतको आदेशमा अभिव्यक्तिका कारण मात्र प्रसाईँलाई थुनामा राखिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन हुने उल्लेख गरिएको छ । साथै सरकारसँग २०८२ मङ्सिर ६ मा महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न सहमति भइसकेको, बदलिएको परिस्थितिमा प्रसाईँमाथि लगाइएको कसुरमा थप तहकिकात वा हिरासत आवश्यक नपर्ने ठहर गर्दै जारी गरिएको पक्राउ पुर्जी तथा म्याद थपका प्रक्रियाहरू बदर गरिएको उल्लेख छ ।

प्रसाईँलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मङ्सिर २ गते मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।  महाअभियानले ७ मङ्सिरदेखि नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो, तर शनिवार सरकार र प्रसाईँ नेतृत्वको महाअभियानबीच वार्ता भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.