राजनीति

थोरै तर इमान्दार कार्यकर्तासहित कांग्रेस अघि बढ्छ : सभापति थापा

जनकपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको भीडभन्दा गुणस्तरीय र प्रतिबद्ध कार्यकर्तामा जोड दिने बताउनुभएको छ ।

बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको मधेश प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्र शुद्धिकरण अभियान सञ्चालन गर्दै थोरै भए पनि इमानदार र जिम्मेवार कार्यकर्ताको बलमा कांग्रेसलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । “संख्याभन्दा गुणस्तर महत्वपूर्ण हो,” भन्दै उहाँले पार्टीलाई मजबुत बनाउन निष्ठावान् कार्यकर्ताको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो ।

उहाँले आगामी दिनमा संगठन सुदृढीकरण, आन्तरिक अनुशासन र नीति–सिद्धान्तमा आधारित राजनीति अघि बढाइने स्पष्ट पार्दै पार्टीलाई एकताबद्ध र प्रभावकारी बनाउँदै देशभर नयाँ ऊर्जा सिर्जना गरिने बताउनुभयो । कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने उहाँको भनाइ छ ।

सभापति थापाका अनुसार वैशाख १ गतेदेखि क्रियाशील सदस्यताको अध्यावधिक प्रक्रिया सुरु गरिनेछ र त्यसपछि देशव्यापी रूपमा शुद्धिकरण अभियान अघि बढाइनेछ । “दश लाखभन्दा बढी सदस्य संख्या भन्दा बरु एक लाख प्रतिबद्ध सदस्य भए पुग्छ,” उहाँले भन्नुभयो, “क्रियाशीलको भारी बोकेर हिँड्ने होइन, गुणस्तरमा ध्यान दिने हो ।”

उहाँले १५ औं महाधिवेशन सफल बनाउने जिम्मेवारी आफूले लिने बताउँदै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाइने धारणा राख्नुभयो । साथै, प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन, संविधान संशोधन र शासकीय सुधारका विषयमा गम्भीर छलफल गरिने जानकारी दिनुभयो ।

प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै सभापति थापाले वर्तमान परिस्थिति जस्तो स्थिति कांग्रेसको इतिहासको पानाा पनि कतै नभेटिएको उल्लेख गनुहुँदै उहाँले धेरै कुरा सुन्ने र सिक्नुपर्ने अवस्था आएको जिकीर गर्नुभयो ।

उहाँले कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अगाडि बढ्ने समेत धारणा राख्नुभयो ।

कांग्रेस सहमहामन्त्री फरमुल्ला मन्सुरको अध्यक्षतामा आयोजित समिक्षा कार्यक्रममा  कांग्रेस  मधेश प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचन लोकतन्त्रका लागि भएको भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभयो । “मधेशका जनता अझै उपेक्षित छन्, तर मधेश कांग्रेसको गढ हो,” उहाँले भन्नुभयो ।

कार्यक्रममा कांग्रेस उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्रीहरू डिला संग्रौला, मुक्ता यादवलगायत प्रदेशका आठै जिल्लाबाट आएका सभापति, नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.