अमेरिका

एपस्टाइनको जन्मदिनसम्बन्धी पत्रलाई लिएर ‘वाल स्ट्रिट जर्नल’ विरुद्ध ट्रम्पले दायर गरेको मुद्धा खारेज

कनेक्टिकट, (एपी)। एक संघीय न्यायाधीशले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ‘द वाल स्ट्रिट जर्नल’ र मिडिया मुगल रूपर्ट मर्डोकविरुद्ध दायर गरिएको अर्बौं डलरको मुद्दा खारेज गरिदिएका छन्। यो मुद्दा धनी लगानीकर्ता जेफ्री एपस्टिनसँग ट्रम्पको सम्बन्धबारे प्रकाशित एक समाचार सामग्रीलाई लिएर दायर गरिएको थियो।

मियामीस्थित अमेरिकी जिल्ला न्यायाधीश डारिन गेल्सले उक्त मुद्दालाई ‘विथ प्रिजुडिस’ अर्थात् सधैंका लागि खारेज गरिदिएका छन्। न्यायाधीशले आफ्नो फैसलामा राष्ट्रपतिले प्रतिवादीहरूले ‘वास्तविक द्वेष’ राखेर मानहानिपूर्ण अभिव्यक्ति दिएको कुरा प्रमाणित गर्न नसकेको उल्लेख गरेका छन्।

फैसलामा भनिएको छ कि, ‘द वाल स्ट्रिट जर्नल’ को खोजमूलक पत्रकारितामा त्रुटिहरू ‘खडा गर्ने’ प्रयास गरिएको थियो, जुन निकै कमजोर आधारमा टिकेको थियो।

जब कुनै मुद्दा ‘विथ प्रिजुडिस’ खारेज गरिन्छ, तब त्यसलाई पुनः दायर गर्न मिल्दैन; यो खारेजी स्थायी र अकाट्य हुन्छ।

यो मुद्दा ‘द वाल स्ट्रिट जर्नल’ ले गत वर्ष प्रकाशित गरेको एक समाचार सामग्रीसँग सम्बन्धित थियो। उक्त सामग्रीमा यौनजन्य संकेत बोकेको एउटा पत्रको चर्चा थियो, जसमा ट्रम्पको नाम उल्लेख थियो। उक्त पत्र सन् २००३ मा जेफ्री एपस्टिनको ५०औं जन्मदिनका लागि तयार पारिएको एउटा एल्बममा समावेश थियो।

समाचार अनुसार, यो पत्र बेलायती सामाजिक व्यक्तित्व घिसलेन म्याक्सवेलले एपस्टिनको जन्मदिनको एल्बमका लागि संकलन गरेकी थिइन्। यो घटना एपस्टिन सन् २००६ मा पहिलो पटक पक्राउ पर्नु र त्यसपछि ट्रम्पसँग उनको सम्बन्ध बिग्रिनु भन्दा धेरै वर्ष अघिको हो।

पत्रिकाका अनुसार, ट्रम्पको नाम उल्लेख भएको उक्त पत्रमा हातले कोरिएको जस्तो देखिने एक नग्न महिलाको चित्रभित्र केही शब्दहरू लेखिएका छन्। पत्रको अन्त्यमा भनिएको छ, “जन्मदिनको शुभकामना — र हरेक दिन अर्को एउटा अद्भुत रहस्य बनोस्।”

ट्रम्पले आफूले यो पत्र नलेखेको दाबी गरेका छन् र उक्त समाचारलाई “झुटा, द्वेषपूर्ण र मानहानिपूर्ण” भनेका छन्।

मियामीको संघीय अदालतमा दायर गरिएको यस मुद्दामा, पत्रिका र त्यसका पत्रकारहरूमाथि “जानेबुझी र लापरबाहीपूर्ण ढंगले” धेरै “झुटा, मानहानिपूर्ण र अपमानजनक” अभिव्यक्तिहरू प्रकाशित गरेको आरोप लगाइएको थियो। मुद्दामा दाबी गरिए अनुसार, यसबाट राष्ट्रपतिलाई “ठूलो आर्थिक र प्रतिष्ठासम्बन्धी क्षति” पुगेको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्