अमेरिकी मध्यावधि निर्वाचन: रिपब्लिकन र डेमोक्र्याटबिच कडा प्रतिस्पर्धा
निर्वाचनमा दुवै पार्टीका लागि गर या मरको स्थिति भएका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प देश दौडाहामा हुनुहुन्छ र उहाँले र्याली र आमसभामा सम्बोधन गरिरहनुभएको छ भने डेमोक्र्याटले पनि पुर्व राष्ट्रपति बराक ओबामालाई चुनावी र्यालीहरुमा मतदाता रिझाउन बक्ताको रुपमा उभ्याएको छ।
लस-एन्जल्स । आउँदो मङ्गलबार अर्थात् नोभेम्बर ३ मा अमेरिकामा तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ र माथिल्लो सदन सिनेटको मध्यावधि निर्वाचन हुँदै छ । राष्ट्रपति निर्वाचनको ठिक दुई वर्षपछि हुने भएकाले यो निर्वाचनलाई अमेरिकामा ‘मिड टर्म निर्वाचन’ का नामले परिचित छ ।
रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बन्नुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको यी दुवै सदनमा स्पष्ट बहुमत भएका कारण हाल राष्ट्रपतिले कार्यकारी अधिकारको प्रयोग गर्दै स्वतन्त्र रूपले कानुन निर्माण गरिरहनुभएको छ । यो मध्यावधि निर्वाचनबाट उहाँको त्यो अधिकारमाथि सङ्कुचन हुने छ वा थप मजबुत हुने छ भन्ने निक्र्योल हुने भएकाले यो निर्वाचनलाई अमेरिकामा मात्र होइन, विश्वभर उत्सुकतासाथ हेरिएको छ ।
विशेष गरी, आप्रावासी प्रति नश्लीय भाषा प्रयोग गर्दै आएका रिपब्लिकन पार्टीका नेताहरुको भाषण, जातिय घृणा र कठोर अध्यागमन नीतिका कारण रिप्बलिकनले आप्रावासी मत गुमाउने अनुमान गरिएको छ । हिस्पानिक र भारतीय मुलका मानिसहरु प्रति अध्यागमन कानुनका नाममा गरिएको दुर्ब्यबहारले पनि यस अघि रिपब्लिकनले पाएको मत समेत गुमाउने अवस्था छ। जसले यसपटक निर्वाचन परिणाममा प्रभाव पार्ने राजनीतिक विश्लेषकहरुको अनुमान छ । राष्ट्रपतिले दुई वर्षको कार्यकालमा के कस्तो कामकारबाही गरे, जनताको विश्वास जित्ने काम गरे वा गरेनन् भनेर समीक्षा गर्ने समय वा मापन गर्ने ‘ब्यारोमिटर’ भएकाले यसलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
अमेरिकाको सङ्घीय संसद्मा दुई सदन छ– तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ र माथिल्लो सदन सिनेट । अमेरिकाको तल्लो सदनमा कुल ४३५ जना सिनेटर रहने व्यवस्था छ भने माथिल्लो सदन सिनेटमा प्रत्येक राज्यबाट दुई/दुई जना सिनेटर रहने संवैधानिक व्यवस्था छ । अहिले अमेरिकाको तल्लो सदन हाउसमा रिपब्लिकन पार्टीका २१८ जना प्रतिनिधि रहनुभएको छ भने डेमोक्रेटिक पार्टीका २१४ जना प्रतिनिधि रहनुभएको छ । त्यसै गरी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका ५३ जना र दुई जना स्वतन्त्र सिनेटरसहित ४७ जना डेमोक्रेटिक पार्टीका हुनुहुन्छ ।
राष्ट्रपतिको अधिकारमाथि धावा बोल्न र उहाँको अधिकार कटौती गर्नका लागि यो निर्वाचनमा डेमोक्रेटिक पार्टीले कम्तीमा पनि दुवै सदनमा चार चार सिट जित्नुपर्ने छ । वालस्ट्रिट र न्युयोर्क टाइम्सले गरेको निर्वाचनअघिको मत सर्वेक्षणमा हाउसमा डेमोक्रेटहरूको बहुमत पुग्ने उल्लेख गरेका छन् भने सिनेटमा भने कसको पल्ला भारी हुन्छ भनेर भन्न सक्ने स्थिति नभएको बताएका छन् ।
यस पटक तल्लो सदनका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटको झन्डै एक तिहाइ अर्थात् ३५ स्थानमा निर्वाचन हुँदै छ । यसबाहेक राज्यका ३६ गभर्नर, राज्यको सर्वोच्च अदालत, महान्यायाधिवक्ता, राज्यका विभिन्न कार्यकारी प्रमुखहरू, स्थानीय कार्यालयका प्रमुख, राज्य विधायिकालगायत झन्डै ४४ हजार प्रतिनिधि निर्वाचित हुने छन् । सबै जसो राज्यमा गत अक्टोबर १५ देखि नै अग्रिम मतदानको व्यवस्था गरिएका कारण बिहीबारसम्ममा चार करोड ३० लाख मतदाताले मतदान गरिसकेको कुरा पिबिएस समाचारले जनाएको छ । यो सङ्ख्या सन् २०२२ को भन्दा एक करोडले बढी हो । यसले यो पटक मतदातामा केही उत्साह बढेको देखिन्छ ।
निर्वाचनमा दुवै पार्टीका लागि गर या मरको स्थिति भएका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प देश दौडाहामा हुनुहुन्छ र उहाँले र्याली र आमसभामा सम्बोधन गरिरहनुभएको छ भने डेमोक्र्याटले पनि पुर्व राष्ट्रपति बराक ओबामालाई चुनावी र्यालीहरुमा मतदाता रिझाउन बक्ताको रुपमा उभ्याएको छ।