साहित्य

काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रमा पछिल्लो समय उदाउँदै गरेका गायक, गीतकार तथा सङ्गीतकार आयुष मगरले छोटो समयमै आफ्ना गीतमार्फत दर्शक र श्रोताको ध्यान खिच्न सफल भएका छन् । रुकुमबाट सुरु भएको उनको सांगीतिक यात्रा अहिले अमेरिकासम्म पुगेको छ । “माया पनि बसेकै थियो“, “लैजाने छु तिमीलाई“ र हालै चर्चामा रहेको “कान्छी“ जस्ता गीतमार्फत उनले आफूलाई नयाँ पुस्ताका आशालाग्दा कलाकारका रूपमा स्थापित गर्दै लगेका छन् ।

आफ्नो सांगीतिक यात्राबारे चर्चा गर्दै गायक मगर भन्नुहुन्छ, “सानैदेखि सङ्गीत सुन्न र गुनगुनाउन मन पर्थ्यो । बिस्तारै गीत लेख्न थालेँ, अनि आफ्नै सिर्जना रेकर्ड गर्ने इच्छा जाग्यो । त्यही रुचि अहिले पेसाजस्तै बनेको छ ।” उहाँका अनुसार गीत केवल सुन्ने कुरा मात्र नभएर महसुस गर्ने माध्यम पनि हो । त्यसैले उहाँ गीतको भावनालाई दृश्यमार्फत पनि दर्शकसम्म पुर्‍याउने प्रयास गर्नुहुन्छ । भिडियोले गीतको कथालाई अझ स्पष्ट बनाउने उहाँको बुझाइ छ । उहाँको पछिल्लो गीत ’कान्छी’ ले युट्युबमा २४ लाखभन्दा बढी ‘भ्युज’ पार गरिसकेको छ भने अन्य गीतहरू पनि उत्तिकै लोकप्रिय छन् ।

विदेशी भूमिमा रहेर पनि नेपाली सङ्गीत साधनालाई निरन्तरता दिइरहनुभएका मगर भन्नुहुन्छ, “प्रविधिले गर्दा अहिले काम गर्न त सजिलो छ, तर डायस्पोरामा बसेर नेपालीपनलाई जोगाइराख्नु र त्यसलाई सङ्गीतमार्फत प्रस्तुत गर्नु मेरो लागि एउटा छुट्टै ‘थेरापी’ जस्तै हो ।”

उहाँ थप्नुहुन्छ, “मलाई सुरुदेखि नै के लाग्थ्यो भने, गीत भनेको कानले सुन्ने मात्र होइन, आँखाले महसुस गर्ने चिज पनि हो । जबसम्म अडियो र भिजुअलको पूर्ण समन्वय हुँदैन, तबसम्म गीतको मर्म श्रोताको मुटुसम्म पुग्दैन जस्तो लाग्छ ।” उहाँ आफूलाई गीतमा एउटा ‘स्टोरीटेलर’का रूपमा पनि प्रस्तुत गर्न रुचाउनुहुन्छ । आफ्ना गीतका भिडियोहरूलाई छोटो चलचित्र जस्तै बनाउन खोज्नुको कारण पनि दर्शकले गीतको भावनालाई अझ गहिरिएर बुझ्न र आफूलाई त्यससँग जोड्न सकून् भन्ने नै रहेको उहाँले बताउनुभयो ।

हाल नयाँ गीतको तयारीमा जुट्नुभएका गायक मगरले आफूलाई एउटै शैलीमा दोहोर्‍याउनुभन्दा फरक–फरक कथा र भावना बोकेका सिर्जनाहरू लिएर आउन चाहेको उल्लेख गर्नुभयो । श्रोताले मन पराउने खालको इमानदार सङ्गीत सिर्जना गरिरहने उहाँको प्रतिबद्धता छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्