नेपाल

जलवायु न्यायको माग गर्दै आन्ताल्यामा नेपालीको प्रदर्शन

काठमाडौँ । गत कात्तिक २३ गतेदेखि जारी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३१) मा जलवायु न्यायका लागि नेपालीहरूले टर्कीएको अन्ताल्यामा प्रदर्शन गरेका छन् ।

सम्मेलनमा भाग लिन पुगेका नेपालीहरूले जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट सहानुभूति होइन, न्याय पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका हुन् ।

रसुवा भोटेकोशी बाढीका पीडित सम्झँदै नेपाली सहभागीहरूले जलवायु न्यायको माग गर्नुभएको हो ।  प्रदर्शनस्थलमा चारवटा शवका नमूना राखिएको जनाइएको छ । आफन्त बाढीमा बेपत्ता भएपछि शवसमेत फेला नपरेको पीडालाई ती नमुनामार्फत प्रस्तुत गरिएको थियो । शवको नमुनामार्फत बाढी र जलवायुजन्य विपद्ले निम्त्याउने मानवीय क्षति, परिवारले भोग्नुपर्ने पीडा र बेपत्ता आफन्तको अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्थालाई प्रदर्शन गरिएको थियो ।

जलवायु सङ्कटका लागि जिम्मेवार प्रदूषणकारी राष्ट्र तथा पक्षहरूले क्षतिपूर्ति दिनुपर्ने मागसहित आयोजित प्रदर्शनमा विभिन्न मुलुकका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाउनुभएको थियो ।

प्रदर्शनमा ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’, ‘ऋण होइन, क्षतिपूर्ति चाहिन्छ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । प्रदर्शनमा विभिन्न देशका वक्ताहरूले पनि नेपालको जलवायु न्यायसम्बन्धी मागप्रति ऐक्यबद्धता जनाउनुभएको थियो । उहाँहरूले जलवायु परिवर्तनबाट जोखिममा रहेका समुदाय र देशका आवाजलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाली वक्ताहरूले जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई ऋण दिएर थप आर्थिक भार बोकाउनुको सट्टा प्रदूषणका लागि जिम्मेवार पक्षले क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको थियो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्