राजनीति

प्रहरी महानिरीक्षक कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सो पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज कारण देखाऊ आदेश जारी गर्दै रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश गरेको हो । यस सन्दर्भमा अदालतले सूचना म्याद तामेल भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताकाे कार्यालयमार्फत लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको हो ।

गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र रिक्त प्रहरी महानिरीक्षकमा डा मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारले आफूलाई कुनै पूर्वसूचना नदिई तथा सुनुवाइको अवसर प्रदान नगरी प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाएको जिकिर गर्दै कार्कीले गत कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सो विषयमा अदालतले यही मङ्सिर ७ गते पेशी तोकेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्