नेपाल
इमेज सहकारी ठगीमा देवकुमार नेपालीलाई ८ वर्ष कैद
कास्की । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले कात्तिक १७ गते नेपालीसहित सात जनालाई कैद, जरिबाना तथा बिगो असुल गर्ने फैसला गरेको हो ।फैसला अनुसार सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई ७ वर्ष तथा निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद सजाय सुनाइएको छ ।
यस प्रकरणमा अझै आठ जना फरार रहेका छन् । अदालतका अनुसार फैसलाको पूर्णपाठ आएपछि थप विवरण स्पष्ट हुनेछ ।