डायस्पोरा

ब्रिटिश गोर्खा भेट्रान्स सोसाइटी, वोकिङको ५ औं साधारण सभा सम्पन्न

भूमिराज राई लन्डन । वोकिङ ब्रिटिश गोर्खा भेट्रान्स सोसाइटीले आफ्नो गौरवशाली इतिहास, सामाजिक एकता र दूरदर्शी नेतृत्वको प्रदर्शन गर्दै ५औं वार्षिक साधारण सभा वोकिङ, सरेमा भव्यताका साथ सम्पन्न गरेको छ। यस ऐतिहासिक भेलाले भूतपूर्व गोर्खा सैनिकहरू र उनीहरूका परिवारबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आगामी दिनका लागि महत्वपूर्ण कल्याणकारी तथा सामुदायिक कार्यक्रमहरूको घोषणा गरेको छ।

सन् २००९ मा संस्थाका संस्थापक, स्वर्गीय माननीय लेफ्टिनेन्ट चक्र राईले रोपेको समाजसेवाको बिरुवा आज एक बलियो वृक्षमा परिणत भएको छ। सभाको सुरुवातम, तिनै दूरदर्शी व्यक्तित्वको पवित्र स्मृतिमा एक मिनेट मौनधारण गरी उनको योगदानको उच्च सम्मान गरियो।

कार्यक्रमकै अवसरमा, संस्थालाई विगत दुई वर्षदेखि सफलतापूर्वक नेतृत्व प्रदान गर्दै आउनुभएका निवर्तमान अध्यक्ष माननीय लेफ्टिनेन्ट इसवार आम्बुहाङले आफ्नो कार्यकाल पूरा गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्नुभएको छ। यससँगै, सभाले लेफ्टिनेन्ट कृष्ण थापाको नयाँ अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ:

कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट आएका भूतपूर्व गोर्खा सैनिकहरू र उनीहरूको परिवारको उत्साहजनक उपस्थिति रहेको थियो। विशेष गरी, स्वर्गीय संस्थापक चक्र राईकी धर्मपत्नी श्रीमती अन्जु राई, छोराछोरीहरू—इन्जिनियर उदिप राई, डा. सुबु, इन्जिनियर इन्दु र डा. नबिता राई तथा नातिनातिनीहरूको उपस्थिति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।

सभाका प्रमुख अतिथि, सेवानिवृत्त मेजर तथा वोकिङका पूर्व काउन्सिलर चित्रा राणाले गोर्खा इतिहासको गरिमामा प्रकाश पार्दै संस्थापक चक्र राईले वोकिङ क्षेत्रका गोर्खा परिवारहरूको कल्याणका लागि पुर्याउनुभएको अहोरात्र योगदानको स्मरण गर्नुभयो। उनले स्थापित गरेका बलियो सामाजिक आधारशिलाले नै आजको नयाँ पुस्तालाई एकसूत्रमा बाँध्न सक्षम बनाएको विचार व्यक्त गरे।

कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरूले संस्थाको सुदृढीकरण र भावी रणनीतिका बारेमा आफ्ना महत्वपूर्ण धारणा राखेका थिए।

ऐतिहासिक एकतामा जोड: निवर्तमान अध्यक्ष, महासचिव पूर्ण पुन र पूर्वअध्यक्ष देबी लिम्बुले समुदायको हकहित र अधिकारका लागि आपसी एकता अपरिहार्य रहेको औँल्याए।

नेपाली समुदायका अध्यक्ष राम देउसाली राई र इन्जिनियर उदिप राई लगायतका वक्ताहरूले वोकिङ, सरेमा यो संस्थालाई केवल वर्तमानका लागि मात्र नभई बेलायतमा हुर्कंदै गरेको भोलको सन्तति (युवा पुस्ता) मा गोर्खा संस्कृति र इतिहास जगेर्ना गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए।

नवनियुक्त अध्यक्ष कृष्ण थापाले आफ्ना मन्तव्य राख्दै गोर्खा सैनिकहरूको वीरता, त्याग र इतिहासलाई नयाँ पुस्ताले गर्वका साथ आत्मसात गर्नुपर्ने बताए। उनले आगामी दिनमा संस्थाका कार्यक्रमहरूमा अझ बढी परिवार तथा भेट्रान्सहरूको सक्रिय सहभागिता जुटाउने प्रतिबद्धता व्यक्त गरे।

पाँचौं साधारण सभाले केवल सांगठनिक समीक्षा मात्र गरेन, त्यसका अलावा समुदायको जीवनस्तर उकास्न र पारिवारिक आत्मीयता बढाउन केही नवीनतम् तथा प्रभावकारी कार्यक्रमहरूको घोषणा समेत गरेको छ !

परिवार र विशेष गरी युवा पुस्तालाई समाजका गतिविधिहरूसँग नजिक जोड्न इन्जिनियर उदिप राई र इन्जिनियर इन्दुको नेतृत्वमा विशेष अन्तरक्रियात्मक कार्यशालाहरू सञ्चालन गरिनेछन्।

यात्रा गर्न असहज महसुस गर्ने तथा भाषागत वा अन्य व्यावहारिक कठिनाइहरूको सामना गरिरहेका ज्येष्ठ भेट्रान्स तथा परिवारका सदस्यहरूलाई लक्षित गर्दै डा. सुबु र डा. नबिताको विशेष संयोजनमा स्वास्थ्य सचेतना तथा परामर्श शिविरहरूको आयोजना गरिनेछ।

पारस्परिक सद्भाव, उल्लास र भाइचाराको वातावरणमा सम्पन्न यस ५औं साधारण सभाले बेलायतस्थित ब्रिटिश गोर्खा समुदायलाई अझ संगठित, सशक्त र भविष्यप्रति आश्वस्त बनाएको छ। स्वर्गीय चक्र राईले देखेको सपनालाई आत्मसात गर्दै नयाँ नेतृत्वले संस्थालाई थप उचाइमा पुर्याउने सङ्कल्पका साथ कार्यक्रमको औपचारिक समापन गरियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्