राजनीति

पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)ले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने र साङ्गठनिक सुदृढीकरण गर्नका लागि भेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनको तयारीका सम्बन्धका पनि भेलामा छलफल हुने बताउनुभयो ।

महासचिव पोखरेलका अनुसार राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न पार्टी केन्द्रीय कमिटीद्वारा पारित आजका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकजुट भई कार्यान्वयनका लागि जनतासमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्नु भेलाको मुख्य ध्येय रहेको छ ।

“आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टी पङ्क्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरी वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउने भेलाको उद्देश्य रहेको छ”, उहाँले भन्नुभयो, “भेलाले पार्टीलाई नयाँ सञ्चार गर्नेछ ।” भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, पार्टीका प्रदेश र जिल्ला कमिटीका पदाधिकारी (प्रवासबाट) र पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष गरी करिब तीन हजार ४१४ जनाको सहभागिता रहने छ ।

भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशासहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन गर्नुहुनेछ ।

भेलामा मुलुकको परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भेलामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम तथा उपलब्धिको समीक्षा र महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नुहुने जानकारी दिइयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्