नेपाल

अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना 

सुनसरी । सुनसरी सहित देशैभरि छठ पर्वको अवसरमा आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिएको छ ।

छठले गर्दा सुनसरीको इनरुवा, इटहरी, दुहबी , दुहबी, गढी, बर्जू ,सुनसरी–मोरङको सिँचाइ आयोजनाको नहरमा सहित जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।

कतै घर अगाडि नै कृत्रिम पोखरी बनाएर त कतै जलाशयहरूमा छठ घाट बनाएर स्थानीयहरू व्यस्त बनेकाले जिल्लाभरि छठपर्वको रौनक बढेको हो ।

आज छठको तेस्रो दिन अर्थात् छठ पर्वको मुख्य दिन । यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार व्रत बसी साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गएर पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । सूर्य पूजा गर्ने घाटलाई बेहुली झैँ सिँगारिएको छ ।

सूर्य उपासनाको महापर्व छठको तयारीमा यस क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले शुक्रवार ‘नहाय–खाय’ विधिबाट गरेका छन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।

कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ ।

पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको सुनसरी दुहबीका व्रतालु सरिता देवी यादवले बताइन् ।

पर्वले घर–घरमा व्यस्तता बढाएको छ । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।

यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।

व्रत बसेका श्रद्धालुले मिथिलामा यसपालि आज आइतबार छठ व्रत अस्ताउँदो सूर्यलाई अर्घ (सझुका अरख) सोमबार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्