नेपाली घरमा शिवालय स्थापना तथा प्राणप्रतिष्ठा महोत्सव भब्यताका साथ सम्पन्न
नातिबाब भट्ट, कोलोराडो । कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शिवालय स्थापना गरी भगवान शिवसहित शिव परिवारका दिव्य मूर्तिहरूको प्राणप्रतिष्ठा महोत्सव कार्यक्रम बिधी पूर्वक सम्पन्न भएको छ ।
शनिवार पुर्वाङका कार्यक्रम गरी शुरू गरिएको प्राणप्रतिष्ठा कार्यक्रम सोमबार रूद्राविषेक, हवन तथा आरती पश्चात सम्पन्न भएको हो । कार्यक्रमको मुख्यदाता कृष्ण काफ्ले कर्ता भइ सम्पन्न गरिएको प्राणप्रतिष्ठा गुरू जिवन बराल, आचार्य पं गोपिकृष्ण र पंण्डित गोविन्द कट्टेलले संयूक्तरूपमा बिधी पुर्वक सम्पन्न गराएका हुन् । प्राण प्रतिष्ठा पश्चात शिव परिवारको नामाकरण समेत गरिएको छ । जसमा अवदेखि चिदानन्द शिव परिवार शिवालय भनिने जनाकारी गराइएको छ ।

प्राणप्रतिष्ठा समारोहमा गुरु तथा पुरोहितहरूद्वारा शास्त्रीय एवं वैदिक विधिअनुसार पूजापाठ, जप–तप, हवन तथा धार्मिक अनुष्ठान भजन–कीर्तनसहित विशेष धार्मिक वातावरणमा मूर्तिहरूको प्राणप्रतिष्ठा सम्पन्न भएको नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले बताएका छन् । बिशेष गरी नेपाली भाषी भुटनिज समुदायको कोलोराडो बाल भजन मण्डलीका बाल कलाकारहरूको प्रश्तुतीले सबैको मन जितेको थियो ।
शिवालयमा नेपालको पवित्र कालीगण्डकी नदीको करिव १० फिट अग्लो र ८ फिट चौडा शिलालाइ दुइजना कालिगढले ३ महिना लगाएर हातले कुँदेर निर्माण गरिएको शिव परिवारको ३ सय किलो भन्दा बढी वजन भएको शुन्दर मुर्ति रहेको छ । नेपाली साँस्कृतिक केन्द्रलाइ सौजन्यस्वरूप उपलब्ध शिव परिवार , शिवलिङ्ग तथा बसाहको मूर्ति लक्ष्मी फुडका प्रोप्राइटर कृष्ण काफ्लेले उपलब्ध गराएका हुन् ।

काफ्लेले प्राणप्रतिष्ठा समारोहमा सहभागी भक्तजनका लागि आवश्यक प्रसाद तयार गर्न चाहिने सम्पूर्ण सामग्री समेत लक्ष्मी फुडले निःशुल्क उपलब्ध गराएको थियो । उनले प्रवासमा नेपालीभाषी समुदायको धार्मिक तथा सांस्कृतिक एकताको केन्द्रको रूपमा रहेको नेपाली सांस्कृतिक केन्द्रमा शिवालय स्थापना हुनु समुदायका लागि महत्वपूर्ण धार्मिक उपलब्धि भएको भनेका छन । यस्तो पुण्य कार्यमा सहभागी हुन पाउनु सवैका लागी गर्वकुरा भएको भन्दै नेपाली घरका उपाध्यक्ष काफ्लेले सबैलाइ सहभागि भइ सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

नेपाली घरले हाम्रो सनातन हिन्दू परम्परामा प्राण–प्रतिष्ठा केवल मूर्तिमा प्राण स्थापना गर्ने विधि मात्र नभई, श्रद्धा, संकल्प र भक्तिको माध्यमबाट ईश्वरसग अझ गहिरो रूपमा जोड्ने पावन धार्मिक संस्कार हो भन्दै आगामी दिनमा यस चिदानन्द शिव परिवारको नित्य पुजा संचालनको लागी सबैको साथ र सहयोगको लागी अनुरोध गरेका छन् । आइतबार सम्पन्न प्राण प्रतिष्ठा कार्यक्रममा कोलोराडोमा रहेका नेपाली भाषी समुदायको बाक्लो उपस्थिती रहेको थियो ।