डायस्पोरा

आँशुका भेल र अर्धचेत बिच विजय पाण्डेको अन्तिम दाह संस्कार सम्पन्न

नातिबाब भट्, कोलोराडो। उठन बाबु तिमीलाइ भेट्न बाबा र म नेपालबाट आइ पुगेका छौं । अर्ध चेतको अवस्थामा छोराको अन्तिम संस्कार कार्यक्रममा आमा संगीताको क्रंदन हो यो ।

उज्ज्वल भविष्यको सपना बोकेर अमेरिका आएका १८ वर्षीय विजय पाण्डेको आँशुका भेल र आमा संगीताको अर्धचेत बिच आज कोलोराडोमा अन्तिम दाह संस्कार सम्पन्न भएको छ ।

गत अगस्ट २९ मा भएको सडक दुर्घटनामा निधन भएका विजय पाण्डेको अन्तिम संस्कार सम्पन्न गर्न उनका बुबाआमा नेपालबाट कोलोराडो आइपुगे पछि अन्तिम संस्कार सम्पन्न भएको हो ।

नेपालको स्याङ्जा जिल्ला, बिरुवा निवासी गणेशप्रसाद पाण्डे र संगीता पाण्डेका जेठा छोरा विजय करिब आठ महिनाअघि मात्र कोलोराडो आएका थिए। उनी अगस्ट २९ को राति काम सकेर कोठातर्फ फर्किने क्रममा सडक दुर्घटनामा परेका थिए।

छोराको असामयिक निधनको खबरपछि बुढेसकालको सहारा गुमाएका बुबाआमा नेपालबाट कोलोराडो आइपुगेका थिए। आयोजित श्रद्धाञ्जली तथा अन्तिम संस्कार कार्यक्रममा परिवार, आफन्त, साथीभाइ तथा कोलोराडोमा रहेका नेपालीभाषी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

अन्तिम संस्कारका क्रममा विजयकी आमा संगीता पाण्डे पटकपटक भावविह्वल भएकी थिइन्। उनी पटक पटक छोराको गालामा म्वाइ खादै बेहोस भएर ढलेकी थिइन् । अन्तिम पटक छोरालाई माया व्यक्त गरिरहेको दृश्यले उपस्थित सबैलाई भावुक बनाएको थियो। त्यस्तै, भाइ आर्यन पाण्डेले पनि दाइको शवअगाडि आँसु थाम्न सकेनन्। दाइको अनुहार आफ्नो दुबै आँखाबाट झरेका आँसुले धुदै अन्तिम बिदाइ गरिरहेको दृश्य अत्यन्त मार्मिक बनेको थियो।

विजयका बुबा गणेशप्रसाद पाण्डेले हिन्दू धार्मिक संस्कार तथा परंपरा अनुसार छोराको अन्तिम दाहसंस्कारको मुख्य विधि पूरा गरेका थिए। पिण्डदान तथा दागबत्ती दिने लगायतका धार्मिक विधि पूरा गरि बिद्धुतिय शवगृहको स्विच थिची उनले छोरा विजयको अन्तिम दाहसंस्कार सम्पन्न गरेका थिए।

हिन्दू धार्मिक परम्परा र संस्कार अनुसार पण्डित रूपनाथ भट्टराई र पण्डित चुडाप्रसाद न्यौपानेले आवश्यक धार्मिक विधि सम्पन्न गराएका थिए।

दाहसंस्कार कार्यक्रममा कोलोराडोमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, बुद्धिजीवी, समुदायका सदस्य, आफन्त तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले विजयको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

कार्यक्रममा समाजसेवी नन्दलाल न्यौपानेले यस दुःखद घटना बारे संक्षिप्त जानाकारी गराएका थिए ।

विजय सानै उमेरदेखि मेहनत गर्दै आफ्नो तथा परिवारको भविष्य निर्माण गर्ने सपना बोकेर अमेरिका आएका थिए। तर अमेरिका आएको केही समयमै भएको सडक दुर्घटनाले उनको जीवनयात्रा असामयिक रूपमा रोकिदिएको छ।

अल्पायुमै भएको उनको निधनले परिवार, आफन्त, साथीभाइ तथा कोलोराडोमा रहेका नेपाली समुदायलाई गहिरो पीडा दिएको छ। परिवारका लागि यो केवल अन्तिम संस्कारको कार्यक्रम नभई आफ्ना प्रिय छोरालाई अन्तिमपटक बिदाइ गर्ने अत्यन्त पीडादायी क्षण बनेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्