कांग्रेस महाधिवेशनः असोज २२ गते मतदान, तीन स्थानमा केन्द्र
काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचन कार्यक्रम सुरु हुनेछ। सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ।
त्यसैगरी साँझ ५ देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, ६ः३० देखि ७ः३० बजेसम्म दाबीविरोधउपर जाँचबुझ र बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
यस्तै, असोज २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तउपर दाबीविरोध, ५ः३० देखि ६ः३० बजेसम्म दाबीविरोधउपर जाँचबुझ र बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन तथा उम्मेदवारी सच्याउन निवेदन दिन सक्नेछन्। सोही दिन बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि असोज २१ गते दिनभर उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन्।
असोज २२ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिनुभयो।
तीन स्थानमा मतदान
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशभित्रका मतदाताले मतदान गर्न पाउनेछन्।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ एवं शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट प्रतिनिधि भएकाले मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
प्रज्ञा भवनमा तोकिएको मतदान केन्द्रमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनेछन्। मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।