नेपाल

सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विमानस्थल जहाजको प्रतीक्षामा

यी विमानस्थलमा समिट एयरलाइन्सले उडान भर्दै आएको थियो । तर, सुदूरपश्चिमका पहाडी क्षेत्रमा व्यावसायिक सफलता हासिल गर्न नसकेको र जहाजको अभाव रहेको जनाउँदै कम्पनीले उडान बन्द गरेको सूचना अधिकारी रानाले बताउनुभयो । उहाँका अनुसार समिट एयरलाइन्सले धनगढी विमानस्थलमा रहेको आफ्नो काउन्टरसमेत बन्द गरिसकेको छ ।

तारामान खड्का, अछाम । सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विमानस्थल जहाजको प्रतीक्षामा छन् । तत्कालीन विद्रोही पक्ष माओवादी आन्दोलनको समयमा ध्वस्त बनेका विमानस्थल शान्ति प्रक्रियापछि लामो समयसम्म गौचरनमा परिणत भएका थिए ।

सुदूरपश्चिमका नागरिकको निरन्तर दबाबपछि पुनर्निर्माण गरी पक्की धावनमार्गसमेत निर्माण गरिएका विमानस्थलमा केही समय चार्टर्ड उडान भए पनि अहिले भने हवाई सेवा बन्द अवस्थामा छ ।

समिट एयरलाइन्स र नेपाल वायुसेवा निगमले प्रदेश राजधानी धनगढीबाट अछामको साँफेबगर, डोटीको दिपायल, बझाङको देवल र बैतडीको पाटन विमानस्थलमा उडान भर्दै आएका थिए । तर, यात्रु र जहाजको अभाव देखाउँदै उडान बन्द गरेको लामो समय बितिसक्दा पनि ती विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुन सकेको छैन ।

साँफेबगर विमानस्थल

२०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालदेखि सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म निरन्तर सञ्चालनमा रहेको यो विमानस्थल २०५८ फागुनमा माओवादीले आक्रमण गरी ध्वस्त पारेपछि बन्द भएको थियो ।

११ करोड ५० लाख रुपियाँको लागतमा पाँच सय मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिएपछि २०७५ जेठमा विमानस्थल पुनः सञ्चालनमा आएको थियो । केही समय जहाजले उडान भरे पनि अहिले भने सेवा बन्द छ ।

कमलबजार विमानस्थल

अछामकै कमलबजारमा अर्को विमानस्थल पनि रहेको छ । कच्ची धावनमार्ग रहेको यस विमानस्थल सञ्चालनका लागि विभिन्न प्रयास भए पनि नियमित उडान हुन सकेको छैन । केही समय नेपालगञ्जबाट यती एयरलाइन्सले उडान भरे पनि यात्रु र जहाजको अभाव देखाउँदै सेवा बन्द गरेको थियो ।

जहाज कम्पनीहरूले भनेजस्तो यात्रुको अभाव नरहेको साँफे एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवर बताउनुहुन्छ । कुनै समय एकै दिन साँफेबगर विमानस्थलमा नेपाल वायुसेवा निगम र समिट एयरलाइन्सका जहाजले उडान भर्ने गरेको उहाँको भनाइ छ ।

जहाजबाट १८ मिनेटमै धनगढी पुग्न सकिने भए पनि अहिले सडकमार्गबाट जान १० घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँले बताउनुभयो । विशेषगरी अशक्त तथा बिरामीलाई लामो सडक यात्राले निकै समस्या हुने गरेको उहाँको भनाइ छ ।

दिपायल विमानस्थल

सुदूरपश्चिमका पहाडी जिल्लामध्ये सबैभन्दा पुरानो विमानस्थलका रूपमा रहेको डोटीको दिपायल विमानस्थल २०२६ सालमा स्थापना भएको थियो । पटक–पटक सञ्चालनमा आउने र बन्द हुने गरेको यो विमानस्थल माओवादी आक्रमणपछि २०५८ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो । लामो समयसम्म विमानस्थल क्षेत्र गौचरन र खेलमैदानका रूपमा प्रयोग भएको थियो ।

२०७३ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काम अगाडि बढाएको थियो । छ करोड ८० लाख रुपियाँको लागतमा चार सय ९० मिटर लम्बाइको धावनमार्ग कालोपत्रे गरिएपछि २०७७ सालमा विमानस्थल पुनः सञ्चालनमा आएको थियो । केही महिना नियमित उडान भए पनि त्यसपछि पुनः जहाज आउन छाडेका छन् ।

डोटीमा खप्तड, शैलेश्वरीलगायत धार्मिक तथा पर्यटकीय स्थल रहेकाले विमानस्थल नियमित सञ्चालनमा आए यहाँको उद्योग तथा पर्यटन व्यवसाय फस्टाउने दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीविजय खड्का बताउनुहुन्छ । पर्यटकलाई सहज रूपमा आवतजावत गर्ने वातावरण बनेमा जिल्लाको आर्थिक तथा पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।

देवल विमानस्थल

२०३२ सालदेखि नियमित उडान हुँदै आएको बझाङको देवल विमानस्थलमा २०६६ सालमा जिल्लामा सडक सञ्जाल जोडिएपछि नियमित उडान स्थगित गरिएको थियो । पाँच करोड ५० लाख रुपियाँको लागतमा छ सय ५० मिटर लामो धावनमार्ग कालोपत्रे गरिएपछि २०७७ सालमा विमानस्थल पुनः सञ्चालनमा आएको थियो । तर, अहिले यात्रुको अभाव देखाउँदै जहाज आउन छाडेका छन् ।

दुर्गम पहाडी क्षेत्रमा नियमित हवाई सेवा सञ्चालन भएको भए गम्भीर प्रकृतिका बिरामीलाई उपचारका लागि सहजै धनगढी पुर्‍याउन सकिने चैनपुरका स्थानीय रुपक खड्का बताउनुहुन्छ । अहिले सडकमार्गबाट यात्रा गर्दा बिरामीको स्वास्थ्य अवस्था झन् बिग्रने जोखिम रहेको उहाँको भनाइ छ ।

पाटन विमानस्थल

२०३२ सालदेखि निर्माण सुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको थियो । २०५२ सालदेखि यहाँको हवाई सेवा बन्द भएको थियो । त्यसपछि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम प्रहार गर्दा विमानस्थलको कार्यालय र टावर पूर्ण रूपमा ध्वस्त भएका थिए ।

विमानस्थल पुनः सञ्चालन गर्ने योजनासहित २०७३ सालमा ११ करोड रुपियाँको लागतमा धावनमार्ग कालोपत्रे गरी सञ्चालनमा ल्याइएको थियो । तर, हवाई उडान भने लामो समयदेखि बन्द छ । २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो । त्यसयता पाटन–धनगढी हवाई उडान हुन सकेको छैन ।

सुदूरपश्चिमका यी चारवटा पक्की धावनमार्ग भएका विमानस्थलमा जहाज नआउँदा पहाडी क्षेत्रका नागरिकको हवाई यात्रा गर्ने सपना अधुरै रहेको रामारोशन पर्यटन विकास तथा व्यवस्थापन समिति अछामका कार्यकारी निर्देशक पूर्णबहादुर विक बताउनुहुन्छ ।

हवाई सेवा बन्द हुँदा रामारोशन, खप्तड, बडीमालिका, अपि–सैपालजस्ता पर्यटकीय क्षेत्रको पर्यटन विकासमा समेत असर परेको उहाँको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, धनगढी विमानस्थलका सूचना अधिकारी धर्मसिंह रानाका अनुसार भूराजनीतिक तथा प्राविधिक कारण र पहाडी क्षेत्रमा उडान भर्न प्रयोग हुने ट्विनअटर जहाजको अभावका कारण साँफेबगर, दिपायल, देवल र पाटन विमानस्थलमा उडान हुन सकेको छैन ।

यी विमानस्थलमा समिट एयरलाइन्सले उडान भर्दै आएको थियो । तर, सुदूरपश्चिमका पहाडी क्षेत्रमा व्यावसायिक सफलता हासिल गर्न नसकेको र जहाजको अभाव रहेको जनाउँदै कम्पनीले उडान बन्द गरेको सूचना अधिकारी रानाले बताउनुभयो । उहाँका अनुसार समिट एयरलाइन्सले धनगढी विमानस्थलमा रहेको आफ्नो काउन्टरसमेत बन्द गरिसकेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्