कविता

भूगोल नाप्दै पाइला -दीपा राई पुन

जीवन त आउँदो–जाँदो क्रम रहेछ,
दृष्यहरू फेरिंदै
सौन्दर्यका अग्ला पहाडहरू,
हरियाली छटाहरू,
र प्रविधिको बदलिँदो स्पर्शसङ्गै
मान्छेका रहरिला पाइला,
अनन्त यात्रामा।
देश भनिने सिमाहरूलाई
मान्छेका उत्साहहरूले किन बाँध्न सकेनन्?
खुशीको आकाशले,
चाहनाको धरतीले,
सबै–सबै उस्तै किन देखायो?
नागरिकताको छाप बोकेर,
पासपोर्टको पानामा चिनारी बोक्दै,
जहाँ पुगे पनि
प्रकृतिको मुहार उस्तै
रुखका पात, खोला,
पर्वतका टाकुरा,
र आँखाका भोक उस्तै।
जहाँ–जहाँ जे भेटियो,
शायद फेरि साक्षात्कार हुँदैन,
स्मृतिमा अल्झिएर
केही छुट्यो मनको कुनामा,
छुट्दासँगै छुटिरहन्थ्यो समय,
संगै छुटिरहेथ्यो मन ।
एक–एक पल
जीवन बाँचिरहन्थ्यो,
एक–एक क्षण
मृत्यु सँगै हिँडिरहन्थ्यो।
जन्म र मृत्यु
दुई किनार बगेर ,
मानवताको इतिहाँस चलिरहेछ ।
र जीवन त्यसैको खोजीमा
भूगोल नाप्दै पाइला चालिरहन्थ्यो।
अनन्त अशिम गन्तब्य !

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.