साहित्य

भेरी साहित्य समाजद्वारा ‘दृष्टिविम्ब’ समालोचना सङ्ग्रहको विमोचन

नेपालगन्ज। भेरी साहित्य समाज केन्द्रीय समिति, भाषा तथा समालोचना विभागद्वारा नेपालगन्जमा एक विशेष साहित्यिक कार्यक्रम आयोजना गरी ‘दृष्टिविम्ब’ समालोचना सङ्ग्रहको विमोचन तथा चार वटा कृतिमाथि परिचर्चा सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सन कुमार रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य र वरिष्ठ लेखक नरेन्द्रजंग पिटर लगायतले समालोचक मीना बरालको ‘दृष्टिविम्ब’ समालोचना सङ्ग्रहको संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव रेग्मीले बाँकेका विभिन्न साहित्यकारका १६ वटा कृति समेटिएको समालोचना सङ्ग्रह ‘दृष्टिविम्ब’ को प्रकाशन आफैँमा महत्वपूर्ण कार्य भएको बताउनुभयो । सो अवसरमा वरिष्ठ लेखक नरेन्द्रजंग पिटर, प्राज्ञ महानन्द ढकाल र भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्र बस्नेतले समालोचनाको महत्व र दायित्वमाथि आआफ्नो धारणा राख्नुभयो ।

त्यसका साथै कार्यक्रममा डा. राजकुमार थारूको ‘थारू साहित्य र अन्य समालोचना’, लेकप्रसाद प्याकुरेलको ‘सम्यक् दर्शन’ र कवि इन्दिरा गौतमको ‘इन्दु’ कविता सङ्ग्रहमाथि विशेष परिचर्चा गरिएको थियो ।

परिचर्चा गर्ने विश्लेषकहरूमा लेकप्रसाद प्याकुरेल, ईश्वरीप्रसाद रिजाल, डा. पुष्कर रिजाल र डा. हरि तिमिल्सिना रहनुभएको थियो । उहाँहरूले सम्बन्धित कृतिहरूको साहित्यिक विशेषता, समालोचनात्मक धारणा र सामाजिक सन्देशमाथि विस्तृत रुपमा प्रकाश पार्नुभयो ।

चार दर्जनभन्दा बढी साहित्यप्रेमीको उपस्थिति रहेको सो कार्यक्रमको बीचबीचमा साङ्गीतिक र काव्यात्मक प्रस्तुतिहरु गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ गायक सुन्दर गुरुङले गीत प्रस्तुत गर्नुभएको थियो भने कविहरू प्रभात सुवेदी, चन्द्रावती अधिकारी, पद्मावती रिजाल, गीता अर्याल र अन्सर नेपालीले गजल, छन्द कविता र मुक्तक वाचन गर्नुभएको भेरी साहित्य समाज केन्द्रीय समिति, भाषा तथा समालोचना विभाग प्रमुख ईश्वरीप्रसाद रिजालले बताउनुभयो ।

सो कार्यक्रमको सहजीकरण डा. हरि तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रमले बाँकेको साहित्यिक अभियानमा नयाँ ऊर्जा थप्ने र समालोचनात्मक चेतनालाई विस्तार गर्ने कार्य गरेको भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्र बस्नेतले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.