वरिष्ठ साहित्यकार विमलको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने
जनकपुरधाम । नेपाली, मैथिली, हिन्दी तथा अङ्ग्रेजी भाषाका प्रकाण्ड विद्वान तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको अन्त्येष्टिमा नेपाल सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । वरिष्ठ साहित्यकार विमलको अन्त्येष्टि कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले राष्ट्रिय सम्मान अर्पण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको हो ।
उहाँलाई नेपाल प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मान अर्पण गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिनुभयो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नंं १० निवासी डा. विमलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा निधन भएको थियो ।
उहाँ विगत केही समयदेखि श्वासप्रश्वास, निमोनिया तथा मुटुसम्बन्धी समस्याले पीडित हुनुहुन्थ्यो । उहाँको आजै दिउँसो ३ः ३० बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने भएको स्वर्गीय विमलका ज्येष्ठ सुपुत्र डा. अभाष लाभले जानकारी दिनुभयो ।
नेपाली, मैथिली, हिन्दी तथा अङ्ग्रेजी साहित्य क्षेत्रमा विशिष्ट योगदान दिनुभएका डा. विमलका कृतिहरू ‘राजेन्द्र विमलका कथाहरू’, ‘खहरेको तिर्खा’, ‘मिथिलाको इतिहास, संस्कृति र कला परम्परा’, ‘गद्य, पद्य र नाटक’ तथा बाल साहित्यतर्फ ‘फिस्टी रानी’ लगायत प्रकाशित भएका छन् ।
मैथिली भाषामा ‘इतिहासक घाओ’, ‘पचास वर्ष मैथिली कथा’, ‘ई हमरे कथा थिक’, ‘सूर्यास्तसँ पहिने’ तथा ‘सीता’, ‘नौटङ्की चलिरहल अछि’, ‘दोहाइ बाबा भुँइयाँ’जस्ता कृति प्रकाशित भएको छ । समाजमा देखिएका विकृति, राजनीतिक विसङ्गति, सामाजिक विभेद, गरिबी, उत्पीडन र सीमान्तकृत समुदायका समस्या उहाँका कथाका विषय बन्दै आएका थिए ।