लागुऔषध प्रयोगकर्ताका बारेमा लेखिएको पुस्तक ‘सीमान्तबाट आन्दोलनसम्म’ लोकार्पण
काठमाडौँ। महिलावाद र महिला लागुऔषध प्रयोगकर्ताका बारेमा लेखिएको पुस्तक ‘सीमान्तबाट आन्दोलनसम्म’ लोकार्पण गरिएको छ ।
दृष्टि नेपालद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य शोभा खनाल, नेपाल परिवार नियोजन सङ्घका निर्देशक प्रविन शाक्य, लेखकद्वय दृष्टि नेपालका संस्थापक परिना लिम्बू र ज्ञानबोध रिसर्च एन्ड डेभलपमेन्ट सर्भिसेजका संस्थापक सुमिरा श्रेष्ठलगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।
प्रतिनिधि सभा सदस्य खनालले महिला, बालबालिकासम्बन्धी विधेयक दफावार छलफलमा पुगेको र लागुऔषध प्रयोगकर्ता महिलाका विषयमा पनि जोडदार आवाज उठाइने प्रतिबद्धता जनाउनुभयो । उहाँले लागुऔषधको दलदलमा पर्न बाध्य महिलाका साहित्यिक, सांस्कृतिक र विविध क्षमता उजागर गर्न सहयोग गरिने बताउनुभयो । उहाँले यस समस्याबाट उनीहरूलाई बाहिर निकाली आत्मसम्मानपूर्वक बाँच्ने वातावरण तयार गर्न राज्यले पनि चासो देखाएर सहयोग गर्नुपर्नेमा जोड पनि दिनुभयो ।
निर्देशक शाक्यले दृष्टि नेपालले लामो समयदेखि लागुऔषध प्रयोगकर्ता महिलाको सशक्तीकरण, उपचारका साथै तिनको क्षमता/प्रतिभा अभिवृद्धि र प्रस्फुटनका लागि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले उनीहरूको सफलताको कथा र तथ्याङ्कसहित पुस्तक प्रकाशन गरी सरोकारवाला सबैको ध्यानाकर्षण गराउन सफल भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाल नेपालमा लागुऔषध प्रयोगकर्ताको अनुमानित सङ्ख्या एक लाख ३० हजार ४२४ रहेको र त्यसमध्ये महिला प्रयोगकर्ता ६.७ प्रतिशत छन् ।”
पुस्तकका सहलेखक दृष्टि नेपालका संस्थापक लिम्बूले हिंसा, स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, राज्यको सेवा पहुँचबाट वञ्चित लागुऔषध प्रयोगकर्ता महिलाको अनुभव, आवाजलाई नारीवादी बहससँग जोड्न यस पुस्तक लेखिएको बताउनुभयो । उहाँले समाजमा लुकेर आफ्नो हक, अधिकारसमेत नखोजी बसेका त्यस्ता महिलाका कथा, अवस्था र तथ्याङ्कसमेत प्रकाशमा ल्याउन टेवा संस्थाको सहकार्यमा पुस्तक प्रकाशन गरिएको जानकारी दिनुभयो ।
ज्ञानबोध रिसर्च एन्ड डेभलपमेन्ट सर्भिसेजका संस्थापक तथा लेखक श्रेष्ठले पुस्तक महिला लागुऔषध प्रयोगकर्ताको जीवन भोगाइ, अधिकार, सङ्घर्ष, आवश्यकता र समाजमा तिनको अर्थपूर्ण सहभागिताको प्रयास बुझ्ने, मनन गर्ने यात्राको रूप हो भन्नुभयो ।
राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा लागुऔषध प्रयोगकर्ता पुरुष/महिलाको अवस्थाबारे मिहिन तथ्याङ्क समेट्ने प्रयास गरिएको पुस्तकमा नेपाली लागुऔषध प्रयोगकर्ता महिलाको आत्मसम्मानपूर्वक बाँच्न पाउने हक, सशक्तीकरणलगायत महिला अधिकारका विषय उल्लेख छ ।