ऐतिहासिक उपन्यास ‘बाखान’ को दोस्रो संस्करण सार्वजनिक
काठमाडौँ । पत्रकार वसन्त पराजुलीद्वारा लिखित जीवनीमूलक उपन्यास ‘बाखान’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ।
शिखा बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको विमोचन ‘राइटर्स सोसाइटी नेपाल’ का अध्यक्ष श्रीओम श्रेष्ठ र अन्य साहित्यकारहरूले संयुक्त रूपमा गर्नुभयो।
यस उपन्यासले चितवनको ऐतिहासिक विवरणका साथै सन् १९५० को बन्दीपुर विद्रोह र सन् १९६१ को भरतपुर विद्रोहका घटनाक्रमहरूलाई तथ्यपरक, सरल र साहित्यिक शैलीमा प्रस्तुत गरेको छ।
नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बाखानसिंह गुरुङको जीवन सङ्घर्षलाई समेट्दै यस कृतिले चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक र ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक रूपमा जीवन्त ढङ्गले चित्रण गरेको छ।
यसले चितवनमा बस्ती विकास र जैविक विविधताको संरक्षणका साथै देशमा भएका विभिन्न विद्रोहहरूको पृष्ठभूमिलाई समेत उजागर गरेको छ।
सो अवसरमा शिखा पब्लिकेशन्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बाखान’ लाई पाठकहरूमाझ लोकप्रिय साहित्यिक कृतिका रूपमा चर्चा गर्नुभयो।
लेखक पराजुली नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष हुनुहुन्छ।