साहित्य समाचार

डा. राजेन्द्र केसीद्वारा लिखित ‘द .पावर अफ माइन्डसेट’ सार्वजनिक

काठमाडौं। व्यवस्थापन तथा शिक्षा क्षेत्रका विज्ञ डा. राजेन्द्र केसीद्वारा लिखित ‘द .पावर अफ माइन्डसेट’ पुस्तक शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको छ।

नेपालको व्यवस्थापन तथा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय डा. केसीले शिक्षा प्रणालीका चार प्रमुख सरोकारवाला—अभिभावक, शिक्षक, व्यवस्थापन र विद्यार्थी—बीच विद्यमानलाई केन्द्रमा राखेर उक्त पुस्तक तयार गरेका हुन्।

डा. केसीका अनुसार यो पुस्तक अनुमान वा परिकल्पनामा आधारित नभई विभिन्न क्षेत्रका अनुभवजन्य अध्ययन, अनुसन्धान तथा तथ्य–तथ्याङ्कका आधारमा तयार गरिएको अनुसन्धानमूलक कृति हो।

पुस्तकलाई पाँच मुख्य खण्डमा विभाजन गरिएको छ। पहिलो खण्डमा चार उपखण्डमार्फत नेपाली शिक्षाशास्त्रमा प्रतिमान परिवर्तन, शिक्षा प्रणालीको इतिहास र आधुनिक अवधारणा, शिक्षणका विविध मोडल तथा परम्परागत भौतिक कक्षाबाट अनलाइन मिश्रित (Blended) सिकाइ प्रणालीसम्मको विकासक्रमलाई समेटिएको छ।

दोस्रो खण्डमा शिक्षा क्षेत्रका चार प्रमुख सरोकारवालाबीच देखिएका अन्तर र चुनौतीहरूको विश्लेषण गरिएको छ। तेस्रो खण्डमा परम्परागत शिक्षा प्रणालीलाई समयानुकूल, प्रतिस्पर्धी तथा बजारमैत्री बनाउने उद्देश्यले आवश्यक नीतिगत सुधार, पहल तथा रूपान्तरणका उपायहरू प्रस्तुत गरिएको छ।

त्यसैगरी, चौथो खण्डमा बहुपुस्तीय (Multigenerational) दृष्टिकोणका आधारमा शिक्षा प्रणालीको नयाँ मोडेलबारे विस्तृत चर्चा गरिएको छ। पाँचौँ तथा अन्तिम खण्ड ‘स्टोरी टु अवेकन’ शीर्षकअन्तर्गत विगतका कमजोरीबाट सिक्दै शिक्षा क्षेत्रलाई सफलता र रूपान्तरणतर्फ डोर्‍याउने सम्भावित परिदृश्य प्रस्तुत गरिएको छ।

डा. केसी साउथवेस्टर्न स्टेट एजुकेशनल ग्रुपका संस्थापक प्राचार्य हुन्। यसअघि उनले ‘बैकल्पिक सोच’ (Alternative Thinking) शीर्षक पुस्तक प्रकाशन गरिसकेका छन्। उनका दर्जनौँ अनुसन्धानमूलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्। डा. केसीको धारणा छ कि विद्यमान सोच, नीति र कार्यपद्धतिमा परिवर्तन नगरी नेपालको शिक्षा क्षेत्रमा अपेक्षित रूपान्तरण सम्भव छैन।

पुस्तकका भूमिका लेखक तथा शुभेच्छुकहरूले यस कृतिले नेपालको शिक्षा प्रणालीलाई गहिरो रूपमा बुझ्न सहयोग पुर्‍याउने ऐनाका रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।

तीन पुस्ताको अनुभव, दृष्टि र अन्तरदृष्टिलाई समेटिएको यस पुस्तकले शिक्षा रूपान्तरणका लागि सोच, प्रेरणा र कार्यदिशा प्रदान गर्ने विश्वास लिइएको छ।

विद्यार्थी पुस्तक भण्डार, काठमाडौंबाट प्रकाशित करिब २०० पृष्ठको यो पुस्तक शुक्रबारदेखि देशभरका बिक्री केन्द्रमार्फत उपलब्ध हुने प्रकाशकले जनाएको छ। लेखक डा. केसीले पुस्तकबाट प्राप्त हुने सम्पूर्ण रोयल्टी युवामुखी कार्यक्रमहरूमा सहयोगस्वरूप प्रदान गरिने घोषणा गरेका छन्।

कार्यक्रममा पुस्तकमाथि डाक्टर रोमकान्त पोखरेल डाक्टर बिदुर ढुंगेल सरिना पन्त डाक्टर शिवराज झा लगायतले बोल्नुभएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्