साहित्य
धागो र आमा
धागो कातिरहेकी आमा
औँलासँगै बुन्छिन्–
तीनसुते,
पाँचसुते,
नौसुते,
बाह्रसुते बत्ती
र गन्छिन् औँलाले आफ्नो उमेर !
आमा !
घरिघरि सोध्छिन्,
यो धागो सेतो हो कि कालो ?
सेतोलाई जीवन
र कालोलाई मृत्यु ठान्छिन् ।
उनका औँलासँगै
धागो र ओठ चल्बलाउँछन्
घरिघरि झ्यालतिर हेर्दै हृदयले अलाप्छिन्
कैले सुरमा,
कैले बेसुरमा,
गाउँछिन्– जीवन र मृत्युको गीत !
त्यही हातको धागो
मधुरो आँखाले हेरेको हेरै गर्छिन्
बत्ती कात्दाकात्दै हातबाटैचुँडिन्छ धागो
अनि उनी झल्याँस्स सम्झिन्छिन्,
यो नै मेरो अवस्थाको चित्र हो !