डायस्पोरा

न्यु ह्याम्पसायरको राज्य प्रतिनिधिमा पूर्व मेजर विश्वबहादुर शाह निर्वाचित

न्यु ह्याम्पसायर। नेपाली सेनाका पूर्व मेजर विश्वबहादुर शाह न्यु ह्याम्पसायरको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचन जितेका शाह नोभेम्बर ३ मा सम्पन्न आमनिर्वाचनमा पनि विजयी भएका हुन्। म्यानचेस्टर निवासी शाह हिल्सबरो काउन्टीको जिल्ला ४१ बाट न्यु ह्याम्पसायरको ४०० सदस्यीय प्रतिनिधिसभामा निर्वाचित भएको अनौपचारिक नतिजाले देखाएको छ।

नोभेम्बर ३, २०२६ को आमनिर्वाचनको अनौपचारिक मतगणनाअनुसार तीन सदस्यीय निर्वाचन क्षेत्रबाट डेमोक्रेटिक उम्मेदवार लिली एम. फस, टम स्टुअर्ट र विश्वबहादुर शाहले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। न्यु ह्याम्पसायरका बहुसदस्यीय निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गर्ने तीन उम्मेदवार निर्वाचित हुन्छन्।

प्रारम्भिक मत गणनामा शाहले ५,७२६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। फसले ६,३१६ र स्टुअर्टले ६,२४१ मत पाएका छन्। उनीहरूका निकटतम रिपब्लिकन प्रतिस्पर्धी रायन हेबर्टले भने ३,३९५ मत मात्र प्राप्त गरेका छन्। यससँगै जिल्ला ४१ का तीनवटै सिट डेमोक्रेटिक पार्टीले जितेको छ।

शाहले आफ्नो चुनावी अभियानमा जीवनयापनको बढ्दो खर्च नियन्त्रण, आर्थिक न्याय, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, बाल हेरचाह र ज्येष्ठ नागरिकको सहयोगलाई प्राथमिकतामा राखेका थिए। उनले कामकाजी परिवारलाई कर छुट, सार्वजनिक विद्यालयमा पर्याप्त लगानी तथा स्वास्थ्य सेवा र बाल हेरचाहलाई सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

“म मेहनती परिवारले न्याय र समृद्धिका लागि वास्तविक अवसर पाउनुपर्छ भन्ने विश्वासका साथ चुनाव लड्दैछु,” शाहले चुनावी अभियानका क्रममा भनेका थिए।

नेपालदेखि अमेरिकासम्मको आफ्नो यात्रालाई अमेरिकी सपनाको उदाहरणका रूपमा प्रस्तुत गर्दै आएका शाहले आफ्नी श्रीमतीसँग मिलेर म्यानचेस्टरमा दुई सन्तान हुर्काइरहेका छन्। निर्वाचित भएपछि म्यानचेस्टरका युवाले उच्च शिक्षा पूरा गरेपछि पनि आफ्नै सहरमा रोजगारी, परिवार र घरजग्गासम्बन्धी अवसर पाउने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता हुने उनले बताएका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्