ह्यारी भण्डारी मेरिल्याण्डबाट र सराहना श्रेष्ठ न्युयोर्कबाट तेस्रो पटक राज्य प्रतिनिधिमा निर्वाचित
अमेरिकी मध्यवादी निर्वाचन परिणामसंगै अमेरिकी मुलधारको राजनीतिमा नेपाली समुदायको उपस्थिति सांकेतिक रुपले बढ्दै गएको देखिन्छ।
लस एन्जलस । नेपाली मुलका ह्यारी भण्डारी मेरिल्याण्डबाट र सराहना श्रेष्ठ न्युयोर्कबाट तेस्रो पटक राज्य संसदमा निर्वाचित भएका छन् ।
सराहना श्रेष्ठ न्युयोर्क स्टेट एसेम्बलीको डिस्ट्रिक्ट १०३ बाट उम्मेदवार बनेकी श्रेष्ठले नोभेम्बर ३ मा सम्पन्न आमनिर्वाचनमा रिपब्लिकन उम्मेदवार स्यान्टोस लोपेजलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन्।

न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकन तथा अमेरिकाको कुनै पनि राज्य संसदमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकन महिला श्रेष्ठ यसअघि सन् २०२२ मा पहिलो र २०२४ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन्।
यसैगरी मेरिल्याण्ड राज्यको प्रतिनिधिसभा (हाउस अफ डेलिगेट्स) मा डिस्ट्रिक्ट ८ बाट नेपाली मूलका अमेरिकी डा. ह्यारी भण्डारी तेस्रोपटक निर्वाचित भएका छन्। नोभेम्बर ३ मा सम्पन्न आमनिर्वाचनको अनौपचारिक नतिजाअनुसार तीन सदस्य निर्वाचित हुने यस क्षेत्रबाट भण्डारीले जित हासिल गरेका हुन् ।
बाल्टिमोर काउन्टीका सबै ३६ निर्वाचन केन्द्रको नतिजा सार्वजनिक हुँदा डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूले तीनवटै सिट जितेका छन्। भण्डारीले १९ हजार ५३० मत अर्थात् कुल मतको २२.३४ प्रतिशत प्राप्त गरेका छन्। निक एलेन १९ हजार ८६० मतसहित पहिलो र किम एल. रस १९ हजार ३४८ मतसहित तेस्रो स्थानमा रहेका छन्।
भण्डारीले यसअघि जुन २३, २०२६ मा सम्पन्न डेमोक्रेटिक प्राइमरीमा ४ हजार १२८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका थिए। त्यसपछि आमनिर्वाचनमा पनि जित हासिल गरेसँगै उनी मेरिल्याण्ड राज्यको प्रतिनिधिसभामा तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
अमेरिकी मध्यवादी निर्वाचन परिणामसंगै अमेरिकी मुलधारको राजनीतिमा नेपाली समुदायको उपस्थिति सांकेतिक रुपले बढ्दै गएको देखिन्छ।