डायस्पोरा

पोल्याण्डको वार्सामा शनिबार, ११ जुलाई ‘नेपाल महोत्सव-२०२६’ आयोजना हुदै

वार्सा । पोल्याण्डमा पहिलो पटक ‘नेपाल महोत्सव २०२६’ आयोजना हुन गइरहेको छ। आयोजकहरूका अनुसार, पोज्नान सहरमा जुलाई ११ मा हुने यस महोत्सवको उद्देश्य नेपाली संस्कृति, परम्परा र पर्यटनको प्रवर्द्धन गर्नु हो।

‘हामी नेपाली ग्लोबल – पोल्याण्ड च्याप्टर’ द्वारा आयोजित यो महोत्सव पोज्नानस्थित इम्पेरियल क्यासलमा शनिबार बिहान ११:३० बजे सुरु हुनेछ।

आयोजकहरूका अनुसार, यो महोत्सव जर्मनीका लागि नेपालका कार्यवाहक राजदूत (जो पोल्याण्डको समेत कार्यभार सम्हाल्दै हुनुहुन्छ) सागर प्रसाद फुयालको प्रमुख संरक्षणमा आयोजना हुनेछ। यस कार्यक्रममा पोल्याण्डको संस्कृति मन्त्रालय र नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न सरकारी तथा गैर-सरकारी संस्थाका प्रतिनिधिहरूलाई पनि आमन्त्रित गरिएको छ।

आयोजकहरूले पोल्याण्डमा रहेका नेपाली समुदायलाई नेपाली राष्ट्रिय झण्डा बोकेर महोत्सवमा सहभागी हुन र कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन्।

आयोजक संस्था ‘हामी नेपाली ग्लोबल–पोल्याण्ड’ की अध्यक्ष शान्ति श्रेष्ठका अनुसार, महोत्सव दुई चरणमा सञ्चालन हुनेछ।

पहिलो चरण अन्तर्गत, नेपालको राष्ट्रिय झण्डा सहितको सांस्कृतिक र्‍याली पोज्नानको ‘सेन्ट्रम कुल्तुरी जामेक’बाट सुरु हुनेछ। र्‍याली सहरका मुख्य क्षेत्रहरू हुँदै अघि बढ्नेछ र यसमा नेपालको मौलिक संस्कृति झल्काउने सांस्कृतिक झाँकी, परम्परागत नृत्य, सङ्गीत र परम्परागत पोसाकहरू प्रदर्शन गरिनेछन्।

दोस्रो चरणमा, दिउँसो १:३० बजे इम्पेरियल कल्चरल सेन्टरको मुख्य हलमा औपचारिक कार्यक्रम हुनेछ। कार्यक्रममा कार्यवाहक राजदूत, पोल्याण्ड सरकारका प्रतिनिधिहरू, कूटनीतिक समुदायका सदस्यहरू र विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

“नेपाल संस्कृतिमा धनी देश हो। यस महोत्सव मार्फत पोल्याण्डका नागरिकहरूलाई नेपालको सांस्कृतिक विविधता, अद्वितीय पहिचान र पर्यटन सम्भावनाबारे परिचित गराउने तथा उनीहरूलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो।

कार्यक्रम संयोजक भाविन्द्र गाहा मगर (भाबिन) ले महोत्सवलाई सफल बनाउन विभिन्न उप-समितिहरू गठन गरी तयारी तीव्र पारिएको जानकारी दिनुभयो।

“पोल्याण्डमा ‘मिनी नेपाल’ (सानो नेपाल) को अनुभव सिर्जना गर्नु नै हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो। ‘हामी नेपाली ग्लोबल – पोल्याण्ड च्याप्टर’ पोल्याण्ड सरकारमा आधिकारिक रूपमा दर्ता भएका नेपाली संस्थाहरूमध्ये एक हो। सन् २०२१ मा पोल्याण्डको केआरएसमा दर्ता भएको यस संस्थाले त्यहाँको नेपाली समुदायमाझ विभिन्न सामाजिक, सांस्कृतिक तथा समुदाय-केन्द्रित गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्