ड्रोनको अवशेष लागेर साउदी अरेबियामा नेपालीको मृत्यु
रियाद । साउदी अरेबियामा भएको ड्रोन आक्रमणको क्रममा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ । हिजो भएको उक्त आक्रमणको बारेमा परराष्ट्र मन्त्रालयले आज पुष्टि गर्दै आकाशको बिचमै रोकिएको ड्रोनको अवशेष लागेर साउदी अरेबियाको अराम्कोस्थित तेल प्रशोधन क्षेत्रमा एक नेपाली नागरिकको मृत्यु भएको जनाएको हो ।
आफ्नो नागरिकको दुःखद निधनप्रति मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै अन्य घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आम नागरिक र महत्वपूर्ण पूर्वाधारहरूमाथि लक्षित सबै आक्रमणहरूको सरकारले निन्दा गरेको छ।
मन्त्रालयले शान्तिपूर्ण सैद्धान्तिक अडानलाई पुनः पुष्टि गर्दै नेपाल सरकारले सम्वाद, वार्ता र कूटनीतिक सम्लग्नता मार्फत विवादहरूको शान्तिपूर्ण समाधानको लागि आह्वान गरेको छ । उक्त घटनामा फिलिपिन्सका एक नागरिकको पनि मृत्यु हुनाको साथै अन्य केही घाइते भएका छन् ।