हुथी विद्रोही समूहको आक्रमणमा साउदी अरबमा एक नेपालीको मृत्यु, ३ जना घाइते
काठमाडौँ। साउदी अरबमा हालै भएको एक आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यस घटनाबारे जानकारी दिएको छ। मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको उपचार भइरहेको छ।
मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। यद्यपि, मृतकको परिचय भने खुलाइएको छैन।
मन्त्रालयले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निसाना बनाइनु नहुने जनाएको छ। नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन तथा विवाद र द्वन्द्व समाधानका लागि शान्तिपूर्ण उपाय अवलम्बन गर्न आग्रह गरेको छ।
नोभेम्बर २४ मा रियादस्थित ‘किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट’ को एउटा टावरमा आक्रमण भएको थियो। साउदी नागरिक सुरक्षा निकाय (साउदी सिभिल डिफेन्स) ले उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको आरोप लगाएको छ।