नेपाल

सर्वोच्चद्वारा दानबहादुर कार्कीको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ, मङ्सिर ९ गते । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलाशले आज रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको देखिँदा सुविधा सन्तुलनको दृष्टिसमेटबाट निवेदकको मागबमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको फैसला गरेको हो ।

निवेदकले अन्तरिम आदेशको माग गरेको विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी सङ्गठनको नेतृत्वसँग सम्बनिधत सार्वजनिक महत्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानुनी प्रश्नको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा सम्बोधन हुने आदेशमा उल्लेख छ ।

“प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धित भई रिट निवेदनमा उठाइएका विषयवस्तुको महत्त्व गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्यर्थीहरूबाट लिखित परेपछि वा पर्ने अवधि व्यतीत भएपछि सात दिनभित्रै पेसी चढाइ पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू”, आदेशमा भनिएको छ ।

कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य र डा दिनमणि पोखरेललगायत तथा नेपाल सरकारकातर्फबाट महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहानलगायतले बहस गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्