मिनेसोटामा हालै खोलिएको आइस केन्द्रविरुद्ध दर्जनौं मानिसहरूद्वारा प्रदर्शन
मिनेसोटा। पश्चिमी मिनेसोटामा रहेको एउटा पूर्व निजी कारागार, जुन हालै अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) को हिरासत केन्द्रका रूपमा पुनः सञ्चालनमा आए लगत्तै, त्यसको विरोध सुरु भएको छ।
मिनियापोलिसबाट पश्चिममा तीन घण्टाको दूरीमा रहेको एप्पलटनस्थित यो हिरासत केन्द्र नोभेम्बर ९ मा सञ्चालनमा आएको हो। ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ले ‘कोरसिभिक’ नामक कम्पनीबाट करिब ५० करोड डलरमा यो संरचना खरिद गरेको थियो, जसले अहिले पनि यसको व्यवस्थापन हेर्दै आएको छ। पहिले ‘प्रेरी करेक्सनल फ्यासिलिटी’का रूपमा परिचित यो केन्द्र सन् २०१० मा बन्द भएको थियो।
आप्रवासी अधिकारकर्मीहरूका अनुसार हाल यहाँ ७० जना व्यक्तिहरू हिरासतमा छन्, जबकि यस केन्द्रमा १,६०० जनासम्मलाई राख्ने क्षमता छ। संचार माध्यमहरुको प्रश्नको जवाफमा आइसले हिरासतमा रहेकाहरूको संख्या “परिवर्तन हुन सक्ने” र यसलाई सार्वजनिक नगरिएको जनाएको छ।
नोभेम्बर १२ मा जारी गरिएको एक विज्ञप्तिमा उक्त निकायले भनेको छ, “यस केन्द्रले आइसलाई कानुनी रूपमा बस्ने अधिकार नभएका व्यक्तिहरूलाई हिरासतमा लिने र फिर्ता पठाउने तत्काल क्षमता प्रदान गर्छ। यसले नयाँ संरचना निर्माणका लागि वर्षौँ कुर्नु नपर्ने गरी अमेरिकी समुदायहरूको सुरक्षा गर्छ र हाम्रा सीमाहरूको मर्यादा पुनर्स्थापित गर्छ।”
सोमबार सेन्ट पलस्थित मिनेसोटा स्टेट क्यापिटल (राज्य संसद् भवन) मा दर्जनौँ मानिसहरू भेला भएर यस केन्द्रको निगरानी हुनुपर्ने र यसलाई बन्द गरिनुपर्ने माग गरे। सन् २०२३ मा, मिनेसोटाको विधायिकाले राज्य प्रणालीअन्तर्गत थुनामा राखिने व्यक्तिहरूका लागि निजी कारागारहरूको प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो।
मिनेसोटास्थित मेरिकन सिभिल लिबर्टीज युनियनका वकालत निर्देशक जुलियो जेलायाले भने, “चाहे त्यो देवानी मामिला होस् वा फौजदारी, संविधानले सबैको सुरक्षा गर्छ। कानुनी प्रक्रिया महत्त्वपूर्ण हुन्छ। अदालतसम्मको पहुँच महत्त्वपूर्ण हुन्छ। मानवीय मर्यादा महत्त्वपूर्ण हुन्छ, र त्यसैले हामी आज यहाँ भेला भएका छौँ।”
प्रदर्शनकारीहरूले “आइस तुरुन्त खारेज गर,” “यी शिविरहरू बन्द गर” र “नाफा होइन, कानुनी प्रक्रिया सुनिश्चित गर” जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकेका थिए।