अर्थ

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा झापाको चारआलीमा पेट्रोलियम भण्डारण केन्द्रको शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको शिलान्यास गर्नुभएको छ । 

दुवै देशका प्रधानमन्त्रीले  आज दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको शिलान्यास गर्नुभएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन र भण्डारण केन्द्रको शिलान्यासले दुवै देशबीचको आपूर्ति साझेदारी थप सुदृढ बनाउने बताउनुभयो ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले दुवै मुलुकका प्रधानमन्त्रीले आज झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारणको शिलान्यासले नेपालको पूर्वी क्षेत्रमा पेट्रोलियम पदार्थको आयातमा सहज हुने बताउनुभयो ।

सोही परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापासम्म ५० किलोमिटर पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण गर्ने योजना रहेको छ । भारत सरकारले पेट्रोलियम पाइपलाइन र भण्डारकेन्द्र दुवै अनुदानमा निर्माण गरिदिन लागेको हो । “अहिले पूर्वी नेपालमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थ ल्याउने काम भइरहेको छ,” प्रबन्ध निर्देशक शाहले भन्नुभयो, “यो परियोजना सम्पन्न भएसँगै पाइपलाइनबाट पेट्रोलियम पदार्थ सहजै ल्याउन सकिनेछ ।”

भारत सरकारको अनुदानमा नै पाइपलाइन र भण्डारकेन्द्र निर्माण हुन गइरहेको प्रबन्ध निर्देशक साहले बताउनुभयो । “अहिले झापामा पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको टर्मिनलको शिलान्यास भएको हो । पाइपलाइन निर्माणको लागि पनि आवश्यक साइट क्लिरेन्स लगायतका काम भइरहेका छन्”, उहाँले भन्नुभयो ।

प्रबन्ध निर्देशक साहका अनुसार पेट्रोलियम भण्डारण केन्द्रको लागत करिब छ अर्ब र पेट्रोलियम पाइलाइनको  निर्माणका लागि करिब रु पाँच अर्ब लाग्ने बताउनुभयो । झापामा निर्माणाधीन उक्त भण्डारण गृहको कूल क्षमता १८ हजार ९०० किलोलिटर रहेको छ । यहाँ डिजेल, पेट्रोल र मट्टीतेल लगायतको पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्छ । दुवै मुलुकका प्रधानमन्त्रीले आजै मोतिहारी–अमलेखगञ्ज पाइपलाइपको दोस्रो चरणको परियोजनाको उद्घाटन गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्