राजनीति

न्यायालयले आफूलाई न्याय गर्ने देउवाको विश्वास

दाङ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई न्यायालयले न्याय गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनको औपचारिक उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको विधान एकपटक राम्रोसँग अध्ययन गरे विशेष अधिवेशन विधानसम्मत नभएको बुझिने बताउनुभयो।

देउवाले राजतन्त्रको समयमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफू विरुद्ध शाही आयोग गठन गरी जेल पठाएको स्मरण गर्दै त्यसबेला पनि तत्कालीन न्यायाधीशबाट न्याय पाएको उल्लेख गर्नुभयो। अहिले गणतन्त्रमा न्यायालय रहेकाले आफूहरूमाथि पनि न्याय हुनेमा विश्वस्त रहेको उहाँको भनाइ थियो।

कांग्रेस सधैँ देश र जनतामाथि समस्या आइपर्दा जनताको पक्षमा उभिने पार्टी भएको उल्लेख गर्दै देउवाले देशभित्र तथा बाहिरबाट विभिन्न चलखेल हुने गरे पनि कांग्रेस त्यस्ता गतिविधिबाट एकाध घटनाबाहेक विचलित नभएको इतिहास रहेको बताउनुभयो।

उहाँले नेपाली काँग्रेसले आफ्नै विधानअनुसार नियमित महाधिवेशन गरिरहेको स्पष्ट पार्दै यस विषयमा कुनै द्विविधा नराख्न आग्रह गर्नुभयो।

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागीको उपस्थिति रहेको निर्वाचन समितिका संयोजक अनिता शर्माले जानकारी दिनुभयो।

प्रदेश सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउनेमा प्युठानका सरोज थापा (रोज राणा), पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसाल रहनुभएको छ। लुम्बिनी प्रदेश अधिवेशन दाङको भालुवाङमा सम्पन्न भएको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्