खेलकुद

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

काठमाडौँ।  नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्ने क्रममा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध ६ विकेटको जित निकालेको हो ।

नेपालले पहिलो खेलमा भारत ‘ए’ विरुद्ध ३०६ रनको पराजय व्यहोरेको थियो । आज भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै सहज जित निकाल्यो । युएईले दिएको १२२ रनमको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

नेपालको जितमा ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा छ चौका र एक छक्कासहित ५६ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दशौँ अर्धशतक हो ।

यसैगरी मयन यादवले २७ र बसिर अहमदले अविजित १८ रनको योगदान दिए । युएईका लागि बलिङतर्फ मोहम्मद मोहसिनले दुई तथा उद्देश सुरी र अङ्श टन्डनले समान १–१ विकेट लिए ।

त्यसअघि दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३९।५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।  उसका लागि मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए । युएईका बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन–तीन तथा राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले १–१ विकेट लिए ।

यो जितपछि नेपालले महत्वपूर्ण २ अङ्क जोडेको छ । नेपाल अहिले समूह ‘बी’ तालिकामा २ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तालिका छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्