दशौं राष्ट्रिय खेलकुद : बागमती ९ स्वर्णसहित शीर्ष स्थानमा
नेपालगञ्ज । दशौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बुधबार चार नयाँ कीर्तिमान बनेका छन् । पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतीका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएन लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
नेपालगन्जस्थित पौडी पोखरीमा भएको प्रतियोगिताको दोस्रो दिन सुदूरपश्चिमका अर्थवले स्वर्ण पदक जित्ने क्रममा आफ्नो कीर्तिमानलाई भङ्ग गर्दै ४ मिनेट ५६.७६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यसअघि उनको नाममा सन् २०२५ मा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनेको थियो । अर्थवले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत (५ मिनेट ०७.५७ सेकेन्ड) र बागमतीका अरिक कर्माचार्यले कास्य पदक (५ मिनेट २६.९९ सेकेन्ड) जिते ।
महिलातर्फको ८०० मिटर फ्रिस्टायलमा लिलीले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४.०६ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छिन् । यसअघि उक्त इभेन्टमा सन् २०२५ मा नेपाल आर्मी क्लबकी डुअना लामाको १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान बनेको थियो । लिलीले स्वर्ण जित्दा डुअनाले आफ्नै पुरानो समयलाई सुधार गर्दै ९ मिनेट ५९.५४ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी देभान्सी जोशीले १० मिनेट ५८.५८ सेकेन्डसहित कास्य पदक हासिल गरिन् ।
यसैगरी बुधबार बागमती प्रदेशका अभिव प्रधानले १०० मिटर फ्रिस्टायलमा १ मिनेट ०१.५१ सेकेन्डको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३.३९ सेकेन्डको कीर्तिमान बनाएका थिए । प्रधानले स्वर्ण जित्दा बागमतीका रिभान्त बहादुर श्रेष्ठले १ मिनेट ०४.०० सेकेन्डसहित रजत र आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०४.०३ सेकेन्डसहित कास्य पदक हासिल गरे ।
त्यस्तै नेपाल पुलिस क्लबको टिमले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७.६८ सेकेन्डको कीर्तिमानलाई बुधबार पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भङ्ग गर्दै ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् ।
प्रतियोगिता अन्तर्गत महिला ५० मिटर बटरफ्लाईमा एनआरएन मिखा काया थापाले स्वर्ण पदक (३०.७८ सेकेन्ड), पुलिसकी देभान्सीले रजत (३२.८८सेकेन्ड) र बागमतीकी इरा अमात्य र आर्मीकी शिसोम्बुन राईले ३३.५६ सेकेन्डमा पूरा गर्दै संयुक्तरुपमा कास्य पदक हासिल गरे । ५० मिटर पुरुष बटरफ्लाईमा बागमतीका अभिव प्रधानले स्वर्ण (२६.०७ सेकेन्ड), पुलिसका इर्भिनले रजत (२७.१४ सेकेन्ड), आर्मीका खेलाडीद्वय सौरेन बहादुर सिंह र असिम भण्डारीले २७.३२ सेकेन्ड समय खर्चेर कास्य पदक जिते ।
२०० मिटर महिला फ्रिस्टायलमा एनआरएन लिलीले स्वर्ण (२ मिनेट १४.०३ सेकेन्ड), आर्मीकी डुअना (२ मिनेट १४.४२ सेकेन्ड) र एनआरएन मिखाले कास्य (२ मिनेट १९.६८ सेकेन्ड) पदक जितिन् । २०० मिटर पुरुष फ्रिस्टायलमा पुलिसका इर्भिनले (१ मिनेट ५९.४८सेकेन्ड) स्वर्ण, पुलिसकै काल्किनले रजत (२ मिनेट ००.८३ सेकेन्ड) र आर्मीका अल्भिनले कास्य (२ मिनेट ०५.०० सेकेन्ड) पदक हासिल गरे ।
१०० मिटर महिला ब्याकस्ट्रोकमा बागमतीकी आर्या महर्जनले स्वर्ण (१ मिनेट ११.९५ सेकेन्ड), एनआरएन मिखाले रजत (१ मिनेट १३.६२ सेकेन्ड) र बागमतीकी रोयल प्रजापतिले कास्य (१ मिनेट १४.४३ सेकेन्ड) कास्य हासिल गरिन् । ४ गुणा १०० मिटर महिला मिड्ले रिलेमा बागमतीले स्वर्ण (५ मिनेट ०५.६९ सेकेन्ड), पुलिसले रजत (५ मिनेट ११.७१ सेकेन्ड) र आर्मीले कास्य (५ मिनेट १५.८५ सेकेन्ड) पदक हासिल गरेको छ ।
बुधवारको अन्तिम इभेन्ट मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले स्वर्ण (२ मिनेट ०२.४६ सेकेन्ड), आर्मीले रजत (२ मिनेट ०४.११ सेकेन्ड) र पुलिसले कास्य पदक (२ मिनेट ०७.०८ सेकेन्ड) हासिल गरेको छ ।
प्रतियोगिताको दोस्रो दिनसम्म आइपुग्दा अंक तालिकामा बागमती ९ स्वर्ण, ४ रजत, ६ कास्य गरी कुल १९ पदकसहित शीर्ष स्थानमा छ भने एनआरएन टिम ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदकसहित दोस्रो र पुलिस ३ स्वर्ण, ७ रजत, ८ कास्य गरी कुल १८ पदकसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ८ रजत, ८ कास्य पदक, पाँचौँ स्थानमा रहेको सुदूरपश्चिमले १ स्वर्ण, २ रजत गरी कुल ३ पदक र कोशी प्रदेश १ स्वर्णसहित तालिकाको छैटौँ स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत दोस्रो दिनसम्म आइपुग्दा ६ वटा इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए । त्यस्तै महिला तर्फको ४०० मिटर (आइएम) मा एनआरएन लिली बोहराले ५ मिनेट १७.०१ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी थिइन् ।
बुधबार प्रतियोगितामा पदक जित्ने खेलाडीलाई ओलम्पियन सुरेन्द्र हमाल र पार्वती थापाले पुरस्कृत गर्नुभएको थियो ।