नेपाल

‘अर्नब’ चक्रवात प्रभाव : अन्नपूर्ण पदयात्रा स्थगित गर्न आग्रह

बेनी। मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ का कारण प्रतिकूल मौसम हुने चेतावनी दिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको पदयात्रा स्थगित गर्न आग्रह गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाले बुधबार सूचना जारी गर्दै वडा नम्बर ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरको पदयात्रा तीन दिन स्थगित गर्न आग्रह गरेको हो । दसैँ–तिहार बिदाको सदुपयोग गर्दै यतिखेर मौरिस हर्जोग पदमार्ग चार हजार ५० मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरको पदयात्रामा आन्तरिक पर्यटकको भिड लागेको छ ।

चक्रवातको प्रभावले भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम बढ्न सक्ने भन्दै गाउँपालिकाले पदयात्रा स्थगित गर्न र पदयात्राका क्रममा रहेका पदयात्रीहरुलाई सुरक्षित स्थलतर्फ जान आग्रह गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । कात्तिक १२ देखि १४ गतेसम्म मेघगर्जन, चट्याङ, भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको सम्भावना रहेकाले स्थानीय बासिन्दा, पदयात्री, ट्रेकिङ व्यवसायी र हिमाल आरोहणको तयारीमा रहेका पर्यटकलाई पूर्वसतर्कता अपनाउन अनुरोध गरिएको पालिका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

गाउँपालिकाले अत्यावश्यक कामबाहेक घरबाट टाढा तथा रातको समयमा यात्रा नगर्न र जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरेको छ । त्यसैगरी, बाढीपहिरोको उच्च जोखिम रहेका स्थान तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन र जोखिम देखिएमा सुरक्षित स्थानमा सर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै ट्रेकिङ व्यवसायी, यातायात व्यवसायी, होटल सञ्चालक तथा पर्यटकलाई आवश्यक पूर्वसतर्कता अपनाउन र स्थानीय वडा कार्यालयसँग समन्वयमा रहन भनिएको छ ।

युवा क्लब, टोल विकास संस्था, सामाजिक संस्था तथा अन्य सरोकारवाला निकायलाई पनि सम्भावित विपद्को सामना गर्न तयारी अवस्थामा रहन गाउँपालिकाले आग्रह गरेको छ । कुनै विपद्जन्य घटना भएमा सम्बन्धित वडा कार्यालय, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ वा गाउँपालिकाको कार्यालयमा तत्काल जानकारी गराउन सूचना मार्फत अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्