अर्थ

भोटेकोशी बाढी : घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार, व्यवसाय र प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड, व्यवसाय र प्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ ।

सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको जग्गा (आफ्नै स्वामित्वको) अन्तर्गत ५४ दशमलव ६५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । जसमा घडेरीमा भएको क्षति रु १३ अर्ब २६ करोड र घर निर्माण लागत रु ११ अर्ब ९५ करोडको छ ।

बाढीका कारण तीन हजार ६१० परिवारको स्वामित्वमा रहेको ५०७ दशमलव ९७ हेक्टर क्षेत्रफल जग्गा जमिन अर्थात रु ३५ अर्ब ४४ करोड बराबरको क्षति भएको छ । त्यसैगरी दुई हजार ९५१ परिवारको खेतबारीमा लगाएको बालीमा क्षति पुगेको छ । जुन रु २३ करोड २१ लाख क्षति हो ।

त्यसैगरी एक हजार ८७६ परिवारको भण्डारणमा रहेको खाद्यान्नमा क्षति पुग्दा रु १० करोड ४१ लाख बराबरको क्षति पुगेको छ । पशुपन्छीतर्फ एक हजार ११ परिवारले पालेको रु २१ करोड ४२ लाख बराबरका पशुपन्छी र माछामा क्षति भएको छ ।

आयोगका अनुसार सवारीसाधनतर्फ एक हजार ११५ परिवारको रु एक अर्ब २४ करोड बराबरको क्षति भएको छ । साथै बहूमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तुतर्फ दुई हजार ३३० परिवारको रु पाँच अर्ब दुई लाख बराबरको क्षति भएको छ । बाढीका कारण स्थायी प्रकृतिका (टिकाउ हुने) घरायसी वस्तुमा पनि क्षति पुगेको छ । जसमा तीन हजार १८७ परिवारले रु एक अर्ब ४५ करोड बराबरको सम्पत्ति गुमाएका छन् । साथै अस्थायी प्रकृतिका (टिकाउ नहुने) घरायसी वस्तुमा पनि दुई हजार ७६९ परिवारले रु ६६ करोड ३५ लाख बराबरको क्षति बेहोरेका छन् ।

आयोगका अनुसार बाढीका कारण कुल छ हजार ८१७ परिवार, ३२ हजार ८७२ जना व्यक्ति, ४९९ प्रतिष्ठान प्रभावित भएका थिए । पूर्ण क्षति भएका आवासीय संरचनाको सङ्ख्या दुई हजार ९८९ छ ।

प्रभावित घरपरिवारतर्फ धादिङमा ९४८, गोरखामा १०८, नुवाकोटमा तीन हजार ८४१ र सुवामा एक हजार ९२० सङ्ख्या छ । साथै प्रतिष्ठानतर्फ धादिङमा १०४, गोरखामा १५, नुवाकोटमा ३२३ र रसुवामा ५७ वटा प्रभावित भएका छन् ।

सर्वेक्षणमा अनलाइन एप र ट्याब्लेटसहित कर्मचारी परिचालन गरिएको थियो । जसमा चार जिल्लाका १५ स्थायीय तहमा ५८ टोली र १५६ जनशक्ति परिचालन गरिएको थियो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्